चन्द्रपुर (रौतहट), भदौ २२ : रौतहटको चन्द्रपुर नगरपालिकाले बसपार्क सञ्चालन गर्न कार्यदल गठन गरेको छ । बसपार्क निर्माण भए पनि बस व्यवसायीले सुरक्षा लगायत विभिन्न कारण देखाउँदै बसलाई बसपार्कमा राख्न नमानेपछि नगरपालिकाले कार्यदल गठन गरेको चन्द्रपुर नगरपालिकाका प्रमुख संजoकुमार काफ्लेले जानकारी दिनुभयो ।
पूर्व पश्चिम राजमार्गको मुख्य चोक र गौर खण्डको सडकमै यातायात व्यवासायीले सार्वजनिक सवारीसाधन राखेर सडक अस्तव्यस्त पारेपछि चन्द्रपुर नगरपालिकाले बसपार्क सञ्चालन गर्न कार्यदल गठन गरेको उहाँको भनाइ छ ।
गठित कार्यदलले रुट निर्धारण,भाडादर,सुरक्षासम्बन्धी कुराहरु,तत्काल गर्नुपर्ने आवश्यक अन्य कुरासम्बन्धी विस्तृत प्रतिवेदन दिएपछि बसपार्क व्यवस्थापन समितिले ठेक्कामार्फत बसपार्क सञ्चालन गर्ने चन्द्रपुर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहले बताउनुभयो ।
चन्द्रपुर नगरपालिका ४ नं. वडा अध्यक्ष रवि राना मगरको अध्यक्षतामा गठित कार्यदलको सदस्य सचिवमा चन्द्रपुर नगरपालिका कार्यालयका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख चन्द्रकला बराल,सदस्यहरुमा बस व्यवसायीका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि रहनुभएको प्रमुख प्रशासकीय अधिकृत डा. साहले बताउनुभयो ।
बसपार्क सञ्चालनको लागि गएको २०८१ साउनमा बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि नगरपालिकाले जारी गरेको छ । कार्यविधि अनुसार बसपार्क व्यवस्थापन समिति गठन गरिएको र सो समितिको अध्यक्ष नगरपालिकाका प्रमुख रहने व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत डा. साहले जानकारी दिनुभयो ।
नगरपालिका र बस व्यवसायीबीच कुरा नमिल्दा बसपार्क सञ्चालन हुन सकेको छैन ।
चार्जिङ स्टेसन सहितको सुविधा सम्पन्न बसपार्क निर्माण भए पनि सुरक्षाको कारण बसपार्कबाट बस सञ्चालन गर्न नसकिएको रौतहट बस व्यवसायी संघका अध्यक्ष रामाशङ्कर गिरीले बताउनुभयो । चन्द्रनिगाहपुरको मुख्य सडक चौकदेखि बसपार्क टाढा हुने, बसपार्कमा रातिको समयमा इन्धन चोरी हुने, निस्कने र प्रवेश गर्ने बाटो एउटै रहेको लगायतका समस्या रहेको रौतहट बस व्यवसायी सङ्घका अध्यक्ष गिरीको भनाइ छ ।
यता इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले बजार क्षेत्र अस्तव्यस्त भएकोले सवारी दुर्घटनाको जोखिम बढेको बताउनुभयो । चन्द्रपुर–४ टेकान टोलमा रहेको बसपार्कमा बस राख्न सुरक्षाको दृष्टि कोणले कुनै समस्या नरहेको उहाँले बताउनुभयो । बसपार्कको सुरक्षाको लागि प्रहरी हरेक समय तयार रहेको प्रहारी नायब उपरीक्षक लाबुंगले जानकारी दिनुभयो ।
पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित चन्द्रनिगाहपुर चोक र गौर चन्द्रनिगाहपुर सडकको दुबैतिर बस, ट्रक, ईरिक्सा, जिपहरु सडकमै पार्किङ हुने गरेको कारण दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले बताउनुभयो ।
बसपार्क सञ्चालनमा आएपछि राजमार्गमा अव्यवस्थित बस पार्किङको समस्या हट्ने उहाँको भनाइ छ । सघन सहरी तथा भवन निर्माण आयोजना पर्सा,वीरगञ्जले सुविधासम्पन्न बसपार्क निर्माणको काम सकेर गएको फागुन १५ गते चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।