09/06/2025, 14:33:13
शनिबार, भदौ २१, २०८२

कञ्चनपुर मानव बेचबिखनको उच्च जोखिम क्षेत्र

©PHOTO : PATRICK TOMBALA

कञ्चनपुर, भदौ २१ : मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ ।

जिल्ला भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान रहेका छन् । अवैध नाकाहरू मानव बेचबिखनको प्रमुख चुनौतीका रूपमा देखा परेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा सीमानाका प्रयोग गरी बालबालिका, किशोरी, तथा महिलालाई भारत, खाडीमुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटनाहरू बढ्दै गएका छन् । मानव बेचबिखनका घटनाहरू बढ्दै जानुमा गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरीतिहरू मूल कारणका रूपमा रहेको संयोजक भट्टले बताउनुभयो ।

खुला सीमा, प्रविधिमैत्री निगरानीको अभाव, स्रोतसाधन र जनशक्तिको कमी, उजुरी दिन डराउने पीडित तथा परिवार, मुद्दा प्रक्रियामा ढिलाइ र सीमापार गराउन आफन्त वा परिवारकै संलग्नता रहने गरेको उहाँले उल्लेख गर्नुभयो ।

मानव बेचबिखन नियन्त्रण सबैको साझा जिम्मेवारी हो”, संयोजक भट्टले भन्नुभयो, “यसलाई रोक्न सचेतना, समन्वय र सहकार्य नै मुख्य आधार हो ।”  मानव बेचबिखनको स्वरूप समयसँगै बदलिँदै गएको उल्लेख गर्नु हुदै उहाँले वैदेशिक रोजगारी, विवाहको प्रलोभन, पर्यटनका नाममा, तथा प्रविधि प्रयोग गरेर हुने ‘साइबर ट्राफिकिङ’का घटना बढिरहेको बताउनुभयो ।

यस्ता गतिविधिमा अन्तरराष्ट्रिय अपराध सञ्जाल सक्रिय रहँदै आएको छ”, उहाँले भन्नुभयो, “यसरी बेचबिखनमा परेकालाई अङ्ग बेच्ने, बालश्रममा लगाउने, यौन शोषण गर्ने वा जबर्जस्ती आपराधिक गतिविधिमा प्रयोग गर्ने गरिएको पाइएको छ ।

PHOTO : PATRICK TOMBALA

मावन बेचबिखनजस्तो जघन्य अपराधले राष्ट्रिय मात्र होइन अन्तरराष्ट्रिय सुरक्षा र मानव अधिकारलाई समेत गम्भीर चुनौती सिर्जना गरेको सामाजिक कार्यकर्ता हरिदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार, सीमा क्षेत्रमा प्रविधि–आधारित निगरानी (सिसिटिभी, बायोमेट्रिक प्रणाली), विद्यालय तहमा सचेतना, कानुनी र सामाजिक पुनःस्थापना कार्यक्रम सञ्चालन अनिवार्य भइसकेको छ ।

माइती नेपालका कञ्चनपुर संयोजक भट्टका अनुसार गत १६ जुलाई २०२४ देखि १५ जुलाई २०२५ सम्मको अवधिमा भारततर्फ जान लागेका २८६ जनालाई रोकथाम गरेको छ । जसमध्ये १२७ जना गड्डाचौकी नाकामा, ४८ जना चारलेन पुलमा र ३८ जना झोलुङ्गे पुलमा रोकथाम गरिएको थियो । रोकथाम गरिएका व्यक्तिहरूमध्ये एक सय २९ जना बालबालिका र १५७ जना महिला रहेका छन् ।

सीमानाकामा रोकथाम गरिएकामध्ये सुदूरपश्चिम प्रदेशका २४८ जना रहेका छन्भने कञ्चनपुर जिल्लाका मात्रै १३६ जना रहेका छन् । त्यसै अवधिमा भारतको हरियाणा, मुम्बई, पिथौरागढ, पुना, विहार र चमौलीबाट बेचबिखनमा परेका आठ जनाको उद्धार गरी ल्याइएको उहाँले जानकारी दिनुभयो ।

PHOTO : PATRICK TOMBALA

सोही अवधिमा माइती नेपालले सीमानाकामा १२ हजार ८३२ सवारीसाधन चेकजाँच गरेको छभने ४६ हजार ५६ जनालाई मानव बेचबिखन तथा सुरक्षित बसाइसराइबारे परामर्श दिएको छ । दुई सय ९० जनाको पारिवारिक पुनर्मिलन गरिएको छ । पैँतीस जनालाई सीमानाकाबाटै प्रत्यक्ष परामर्श दिएर घर फर्काइएको छ ।

माइती नेपालमा खोजतलासका लागि १८० वटा निवेदन दर्ता भएको र जसमध्ये ७३ जना खोजतलास गर्दा भेटिएका छन् । घरेलु हिंसासम्बन्धी २२ वटा उजुरी दर्ता भएकामध्ये १८ वटा समाधान गरिएको छ भने मानव बेचबिखनविरुद्ध एक मुद्दा दर्ता भएको संयोजक भट्टको भनाइ रहेको छ ।

मानव बेचबिखन रोकथामका लागि माइती नेपालले समुदायस्तरमा घरदैलो कार्यक्रम, पर्चा–पम्पलेट वितरण, किशोरीलाई कानुनी अनुशिक्षण, सडक नाटक लगायतका अभियान सञ्चालन गर्दै आएको छ । यसरी गाउँ–गाउँमै सचेतनासम्बन्धीका कार्यक्रम गरिए मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण गर्न सकिने शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना पन्तले बताउनुभयो ।

PHOTO : PATRICK TOMBALA

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले सीमा क्षेत्रमा मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण भए पनि समुदायको सक्रियता र सरकारी–गैरसरकारी निकायको सहकार्यलाई बढाउन सकिए समस्या कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय, प्रादेशिक र सङ्घीय सरकारबीच बलियो समन्वय र सहकार्य अपरिहार्य छ”, उहाँले भन्नुभयो, “न्यायिक प्रक्रियालाई छिटोछरितो बनाउन, तालिम तथा सीप विकासमार्फत रोजगारीको अवसर सृजना गर्न र डिजिटल माध्यम प्रयोग गरेर दीगो सेवा सुनिश्चित गर्न आवश्यक छ ।

मानव बेचबिखन रोकथामका लागि सचेतना, कानुन कार्यान्वयन, सुरक्षा सुदृढीकरण र समुदायस्तरको सक्रिय अभियान नै प्रभावकारी उपाय रहेको उहाँ बताउनुहुन्छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..