09/04/2025, 12:57:06
बिहिबार, भदौ १९, २०८२

के चाडपर्वका बेला सहज होला नारायणगढ–बुटवलको यात्रा ?


काठमाडौँ, भदौ १९ : चाडपर्वको मौसम सुरु भयो । सहर–बजारमा बसिरहेकाहरूले घर कहिले जाने, के-के लैजाने भनेर सोच्ने बेला आयो । तर यही बेला उनीहरूमा एउटा चिन्ता छ- घर जाने सडक के-कस्ता छन् त ?

पश्चिम जानेहरूका लागि सधैं चासो हुने सडक हो- नारायणगढ–बुटवल सडकखण्ड । यसको प्रगति अपेक्षाकृत रूपमा राम्रो छैन । सात वर्षअघि विस्तार थालिएको यो सडकखण्डको काम अझै सकिएको छैन । यसको विस्तार थालेयता ६ वटा दसैं–तिहार सकिए, काम भने अझै सकिएको छैन ।

अघिपछि भन्दा चाडबाडका बेला यस सडकखण्ड भएर गुड्ने सवारी चाप बढी हुन्छ । जसले गर्दा यात्रुले चाडबाडका बेला घर जान सास्ती खेप्नुपर्ने हुन सक्छ । आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकाल भने यस सडकखण्डमा यसपालि सर्वसाधारणले विगतमा जसरी सास्ती बेहोर्नु नपर्ने बताउँछन् । ‘दाउन्नेबाहेक अन्य खण्डमा समस्या छैन, त्यहाँ पनि समस्या नहुने गरी काम भइरहेको छ,’ उनले भने ।

२०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यस सडकखण्डको काम २०७९ साउनभित्र सकिसक्नुपर्ने थियो । तर कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० साउन ११ सम्मका लागि यसको म्याद थप त भयो, तर उक्त समयभित्र पनि काम सकिएन । दोस्रो पटक २०८१ साउन ८ सम्म म्याद थप गरियो, तर काम सकिएन ।

१ सय १३ किलोमिटर दूरी रहेको सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । आयोजनाका अनुसार १ सय १३ किमिमध्ये १ सय ४ किमि कालोपत्र भइसकेको छ । त्यस्तै ८० किमि दुईतर्फी नै कालोपत्र भइसकेको प्रमुख ढकालले बताए ।

अब ९ किमि खण्डमा मात्र कालोपत्र र ढलान गर्न बाँकी छ,’ ढकालले भने, ‘अहिले दाउन्नेमा ढलानको काम भइरहेको छ, बर्खाले गर्दा केही समस्या भएको हो, दसैंपछि यस खण्डमा सहज हुनेछ ।’ दाउन्नेमा अझै पाँच वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले बर्खाअघि समस्या हुने भएर सडक नभत्काइएको र बर्खालगत्तै उक्त काम सुरु हुने ढकालको भनाइ छ ।

चाडबाडमा मेसिन सडकमा तैनाथ राखेर सवारी आवागमन सहज बनाइने आयोजनाले जनाएको छ । यो खण्ड भएर दिनहुँ साना–ठूला गरेर करिब १० देखि १५ हजार सवारी साधन ओहोरदोहोर गर्छन् । ‘चाडबाडका बेला यो संख्या अझ बढी हुन्छ,’ उनले भने, ‘त्यहीअनुसार चाडबाडमा सडक सहज गर्ने गरी नै काम गरेका छौं ।