12/15/2025, 17:51:12
सोमबार, मङि्सर २९, २०८२

फोहोरबाट भरतपुर अस्पताललाई वर्षमा २० लाख आम्दानी


२९ मङ्सिर, चितवन : उपचारका लागि भरतपुरको सरकारी अस्पताल आएकी माडी नगरपालिका–२ नयाँ पर्साकी टीकाकुमारी महतो अस्पताल परिसरको चौतारीमा बसेकी थिइन् । आठ वर्षअघि यही अस्पताल आउँदा निकै फोहोर देखेकी उनले यो पटक सफासुग्घर भेटिन् ।

फोहोर देखिएन, पहिलाभन्दा राम्रो भएछ,’ उनले भनिन् । भरतपुर महानगरपालिका–११ ज्ञानज्योति टोलकी यज्ञकुमारी मगर पनि त्यहीं भेटिइन् । दुई वर्षअघि देखेको भन्दा अहिले अस्पतालमा फोहोर निकै कम भएको उनले सुनाइन् ।

निकै व्यस्त भरतपुर अस्पतालमा दिनमा तीन हजारसम्म बिरामी आउने गरेका छन् । बिरामीका कुरुवा र आफन्तको भीड लाग्छ । भीडभाडमा पनि अस्पताल सफा देखिन्छ । फोहोरमैला व्यवस्थापनले अस्पतालको मुहार नै फेरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा.कृष्णप्रसाद पौडेलले बताए । ‘यहाँ उत्पादन हुने फोहोरको व्यवस्थित संकलन हुन्छ । संकलन भएको फोहोर प्रशोधन गरेर बिक्री गर्छौं । महिनाको एक लाख ७१ हजार रुपैयाँ कमाउँछौं,’ उनले भने ।

फोहोर बिक्रीबाट यस वर्ष २० लाख ५९ हजार रुपैयाँ आम्दानी हुने उनले बताए । गत वर्षसम्म महिनाको ४० हजार रुपैयाँ आम्दानी हुने गरेकोमा यो वर्ष ह्वात्तै बढेको हो । ‘फोहोर बढेर हैन, फोहोरको व्यवस्थित संकलन र प्रशोधनले गर्दा आम्दानीको आकार बढेको हो,’ पौडेलले भने ।

अस्पताल प्रवेश गरेसँगै फोहोर राख्ने डस्टबिन ठाउँठाउँमा राखेको भेटिन्छ । कुन फोहोर कुन भाँडोमा राख्ने ? त्यहीअनुसारको रंग लगाएको डस्टबिन छन् । ‘अस्पतालमा दैनिक सात सय किलोसम्म फोहोर उत्पादन हुन्छ । जसमध्ये १ सय ५० किलो जति फोहोर जोखिमयुक्त खालको हुन्छ,’ अस्पतालको फोहोर व्यवस्थापन फोकल पर्सन रहेका डोलराज तिमल्सिनाले भने । जोखिमयुक्त फोहोर पनि प्रशोधन र निर्मलीकरण गरेर जोखिमरहित बनाउने गरेको उनले बताए ।

उनका अनुसार प्रशोधनपछि ल्यान्डफिल साइटमा पठाउनुपर्ने फोहोर जम्मा दुई सय किलो जति मात्रै बच्ने गर्छ । ‘पानीका बोत्तल, कार्टुन, स्लाइनका बोत्तलहरू निस्कन्छन् । त्यो बिक्री गरेरै आम्दानी लिएका छौं । कुहिने फोहोरबाट बायोग्यास प्लान्ट चलेको छ । प्रशोधन केन्द्रका कर्मचारीले त्यसैमा पकाएर चिया खाजा खाने गर्छन्,’ तिमल्सिनाले भने । प्रशोधन केन्द्रमा ६ कर्मचारी खट्छन् ।

भरतपुर अस्पतालमा ३२ वार्ड छन् । वार्डभित्र फोहोर राख्ने फरकफरक रंगका डस्टबिनहरू छन् । वार्ड छिर्नुअघि नै कुन फोहोर कुन रंगको डस्टबिनमा राख्ने भनेर जानकारी दिने पोस्टरहरू ठाउँठाउँमा राखिएको छ । समग्रमा साधारण र जोखिमयुक्त अर्थात् संक्रमणको खतरा नरहने र रहने भनेर दुई भागमा फोहोर वर्गीकरण गरेको तिमल्सिनाले बताए ।

साधारण फोहोर व्यवस्थापन गर्ने ट्रली र जोखिमयुक्त फोहोर व्यवस्थापन गर्ने ट्रली नै फरक छ । यी ट्रलीहरू फोहोर प्रशोधन केन्द्रमा पुग्ने बाटो पनि फरक छ । जोखिमयुक्त फोहोरलाई संक्रमणरहित गर्न दुईवटा ठूला अटोक्लेभ मेसिनमा राखिने गरिन्छ,’ उनले भने । ती मेसिनले संक्रमणमुक्त गराएपछि बिक्रीयोग्य वस्तु छान्ने उनले बताए ।

अप्रेसन थिएटर (ओटी) र डाइलाइसिस सेन्टरबाट आउने फोहोर बाहिर ल्याउन हामीले छुट्टै लिफ्ट राखेका छौं । फोहोर व्यवस्थापन राम्रोसँग गरौं । अन्यत्र असर नपुर्‍याउँ भन्ने हाम्रो ध्यान छ,’ उनले भने । अस्पतालले महिनाको न्यूनतम एक लाख ५० हजार रुपैयाँ राखेर टेन्डर आह्वान गरेको थियो । हरेक महिना एक लाख ७१ हजार ६६६ रुपैयाँ बुझाउन तयार भएकालाई बिक्री गर्दै आएको उनले बताए ।

– रमेशकुमार पौडेल