काठमाडौँ, मङ्सिर २९ : हिमालयन रिम चलचित्र प्रदर्शनी आइतबार सुरु भएको छ । प्रदर्शनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभागमा सुरु गरिएको हो । तीन दिन चल्ने प्रदर्शनीको नारा ‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नवप्रवर्तन’ राखिएको छ । प्रदर्शनी कार्यक्रम हिमालयन रिम फिल्म एक्जिभिसनले पहिलो पटक आयोजना गरेको हो ।
प्रदर्शनीमा एनिमेटेड चलचित्र प्रदर्शन, क्राफ्ट कार्यशाला, सांस्कृतिक–सिर्जनात्मक प्रदर्शनी तथा सिनेम्याटिक संवाद समेटिएका छन् । प्रदर्शनीको पहिलो दिन एआई प्रविधिबाट बनाइएको छोटो चलचित्र ‘दी स्पिरिट अफ दी माउन्टेन्स’ प्रदर्शन गरिएको छ । चलचित्रले परम्परागत सांस्कृतिक धरोहर र अत्याधुनिक एआई प्रविधिबिचको अद्वितीय संयोजन प्रस्तुत गरेको छ । चलचित्र चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्ने ‘क्वानसिङ तुओ’ प्रविधिबाट प्रेरित थियो । चलचित्रले डिजिटल प्रविधिको सहयोगमा परम्परागत संस्कृतिलाई कसरी पुनर्जीवित र पुनः व्याख्या गर्न सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ । फिल्मका निर्देशक पाङ जिया हुनुहुन्छ ।
दिउँसोको सत्रमा एनिमेटेड चलचित्र ‘दी लिजेन्ड अफ हेई–२’ प्रदर्शन गरिएको थियो । चलचित्रले मानिस र पर्वत, जल, काठ, ढुङ्गा तथा जनावरलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने पात्रबिचको सहअस्तित्वको कथा प्रस्तुत गरेको छ । चलचित्रमा ‘गतिशील स्टोरीबोर्ड प्रिऔभिजुअलाइजेसन’ प्रविधि प्रयोग गरिएको थियो । चलचित्र प्रदर्शनपछि निर्देशक जियाले भिडियो लिङ्कमार्फत प्रत्यक्ष रूपमा एआई दृश्य–निर्माण प्रक्रियाको प्रस्तुति दिनुभयो । निर्माता जुन्यान हुआङले पनि विद्यार्थीसँग अन्तर्क्रियात्मक प्रश्नोत्तर सत्रमा सहभागिता जनाउँदै हलमा उत्सुकता र आश्चर्यको वातावरण सिर्जना गर्नुभयो ।

चिनियाँ फिल्मको विशेष प्रदर्शनमा प्राध्यापक कुन्दन अर्याल, निर्देशक केपी पाठक, कलाकार बुद्धि तामाङ, प्रदीप खड्कालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी अतिथि, प्राध्यापक र विद्यार्थीबिच चलचित्र, संस्कृति र प्रविधिका विषयमा छलफल भएको थियो । त्रिविसँगै प्रदर्शनी काठमाडौँ विश्वविद्यालयमा तीन दिन र लुम्बिनी विश्वविद्यालयमा एक दिन गरी साताव्यापी सञ्चालन हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा ‘क्वानसिङ तुओ’ जस्ता अमूर्त सांस्कृतिक सम्पदादेखि एआइजिसी (एआई जेनेरेटेड कन्टेन) एनिमेसनसम्मको यात्रा समेटिने छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










