काठमाडौँ, भदौ १५ : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई निर्णायक शक्ति बनाउनेगरी विधान संशोधनको तयारी भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा शनिबार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उपमहासचिव ज्ञवालीले निर्णायक शक्ति बनाउन भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनबाट विधानमा केही सुधार गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपालीको मुद्दा अब आकाङ्क्षा मात्र रहेन, हाम्रो गन्तव्य हो, विधानमै त्यो कुरा समेटेर अघि बढ्छौँ ।” नेपाली विशेषतासहितको समाजवाद पार्टीको गन्तव्य भएको बताउँदै उहाँले यस विषयको सम्बोधन पार्टी बलियो भयो भने मात्र सम्भव हुने उहाँले बताउनुभयो ।
एमालेविरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरू चलायमान भए पनि एमाले अहिले पनि साङ्गठनिक रूपमा बलियो शक्ति भएकै कारणले कसैले हल्लाउन नसक्ने उहाँको भनाइ छ । अहिलेको अवस्थामा एमालेलाई थप एकताबद्ध बनाई निर्णायक शक्ति बनाउनेगरी पार्टी नेतृत्वले काम गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।
“अस्थिरता देशको लागि जटिल समस्या हो, विकासको बाधक पनि हो, यसलाई नपन्छाई देश बन्दैन” उपमहासचिव ज्ञवालीले भन्नुभयो, “एमालेलाई निर्णायक शक्ति बनाउने विधान महाधिवेशनको लक्ष्य हो, त्यसअनुरूप विधानमा परिमार्जन हुने छ ।” पार्टीको कमिटी प्रणालीलाई चुस्त बनाउने र पार्टीका नेताहरूको आचरणलाई जनपक्षीय बनाउनेगरी काम भइरहेको उहाँले बताउनुभयो ।
पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका नेता ज्ञवालीले भन्नुभयो, “पार्टीलाई बलियो बनाउन बाम शक्तिको एकीकरण गर्ने अभियान पार्टीको हो, तर स्वार्थले भरिएका टाउको जोड्ने पक्षमा हामी छैनौँ । जगबाट बलियो बनाउने गरी एकता चाहेका छौँ ।” विगतमा पार्टीका केही नेताहरू निर्वाचनको मुखबाटै पार्टीबाट अलग भएका कारण एमाले निर्णायक शक्ति बन्नबाट बञ्चित हुनेगरेको चर्चा गर्दै नेता ज्ञवालीले भन्नुभयो, “हामी देशको प्रमुख शक्ति हौँ, विगतको निर्वाचनताका पार्टीबाट केही समूह बाहिर नगएको भए निर्णायक शक्ति बनिसक्थ्यौँ, विविध कारणले हामी चुक्यौँ ।”
वाम शक्तिलाई एक बनाउने जिम्मेवारी पनि एमालेको काँधमा रहेको भए पनि २०७५ जेठ ३ मा नेपाल कम्युनिस्ट पार्टी बनाउँदा नेताहरूको स्वार्थका कारण पार्टी भत्किएको र पुनः त्यस्तो स्वार्थी समूहसँग वाम शक्तिको नाममा एकीकरण हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । आगामी दिनमा स्वार्थरहित, देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने नेताहरूसँग पार्टीमा स्वागत गरिने उहाँले बताउनुभयो ।
पूर्व राष्ट्रपतिलाई अभिभावकीय भूमिकामै राखिने
अर्को प्रसङ्गमा उपमहासचिव ज्ञवालीले पूर्व राष्ट्रपति विद्या भण्डारी देशको अभिभावकीय भूमिकामा रहनुभएकाले आगामी दिनमा पनि सोही भूमिकामा पार्टीले हेर्न चाहेको प्रष्ट पार्नुभयो । विधान संशोधन गर्दा पूर्व राष्ट्रपति, उपराष्ट्रपति, सभामुखजस्ता महत्त्वपूर्ण जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरिसकेकालाई पार्टी जीवनमा फर्कन नदिने गरी संशोधन गर्न गाउँ तहबाट सुझाव आएको उहाँले बताउनुभयो । त्यसमा विधान महाधिवेशनले छलफल गर्ने उहाँको भनाइ छ ।
पूर्व राष्ट्रपतिको विषयमा पार्टीले संस्थागत निर्णय गरिसकेकाले सोहीअनुसार पार्टी अघि बढ्ने बताउँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो, “पूर्व राष्ट्रपतिप्रति हाम्रो पार्टीको उच्च सम्मान र आदार छ । उहाँलाई देशको अभिभावककै रूपमा पार्टीले हेर्न चाहेको छ । पुनः पार्टी राजनीतिमा आउनु उहाँका लागि राम्रो हुन्न ।” संविधानको धारा ६२ (६) ले पनि त्यही व्यवस्था सुनिश्चित गरेको उहाँको भनाइ छ ।
विधान महाधिवेशनको तयारी
उपमहासचिव ज्ञवालीले भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनका लागि तयारी तिव्र पारिएको बताउनुभयो । विधान महाधिवेशनमा जम्मा २ हजार ३५० जनाको सहभागिता रहने र २ हजार ३३ जना प्रतिनिधि रहने प्रष्ट पार्नुभयो । विधानमा धेरै संशोधनभन्दा पनि पार्टीको गन्तव्य निर्धारण गर्नेगरी संशोधन हुने उहाँले जानकारी दिनुभयो ।
अहिले नेपाली विशेषतासहितको समाजवादको नेतृत्व गर्ने सबल नेतृत्वको खाँचो रहेकाले नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नदेखिएको उहाँको भनाइ छ । मुलुकको हित र जनताको चाहना पनि त्यही रहेको उहाँले प्रष्ट पार्नुभयो । दुई कार्यकाल र उमेरको हद त्यति व्यावहारिक नभएकाले विधानमा परिमार्जन गरिने उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा पार्टी सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य रामेश्वर फुयाल, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेत लगायतको सहभागिता थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










