08/27/2025, 14:43:42

रुबी हत्याकाण्ड : आरोपी पासवान आत्महत्या प्रयास गर्दैगर्दा पक्राउ


रौतहट, भदौ ११ : माधवनारायण नगरपालिका–२ माधोपुरकी ३० वर्षीया रुबी कुमारी साहको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रुबीको हत्या गरी फरार माधोपुर घर भएका लक्ष्मण पासवान बुधबार बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा पक्राउ परेका हुन् ।

उनले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ । पासवानको शरीर पूरै जलेकोकाले उपचारको लागि तत्कालै अस्पताल लैजान लागेको जिल्ला प्रहरी कार्यालय गौरका एक प्रहरी अधिकृतले जानकारी दिए । ‘पासवानले आफ्नै घर नजिक आगो लगाएर आत्महत्याको प्रयास गरेका रहेछन्,’ प्रहरी अधिकृतले भने, ‘हामी अहिले उपचारमा जुटेका छौं । अहिले नै के भएको हो भन्न सक्ने अवस्थामा छैनौं । पासवान बोल्न सक्ने अवस्थामा छैनन् ।

रुबीको हत्यापछि फरार पासवानले मंगलबार राति इन्स्टाग्राममा केही बोलेका थिए । त्यसैलाई पिछा गर्दै प्रहरी पासवान बसेको स्थान पुगेको हो । तर उनले शरीरमा आगो लगाएर आत्महत्या गर्न खोजेको प्रहरीको भनाइ छ । अहिले प्रहरीले घाइते पासवानलाई उपचारको लागि अस्पताल लिएको छ ।

शनिबार साँझ गौरस्थित कोठा रुबी ब्यूटी पार्लर जान भनेर निस्किएकी थिइन् । आइतबार भारतको मुजफरपुरस्थित रोक्साटोल घर जाने तयारीका लागि रुबी अनुहारमा फेसियल गर्न पार्लर गएकी हुन् । उनी फेसियल गरेर बाहिरिएपछि पासवानले रुबीको हत्या भएको थियो । सोही राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी तत्कालै घट्नास्थल पुग्यो । शंकास्पद सुटकेस खोलेनन् । बिहान पख खोलेर हेर्दा रुबीको शव फेला पारेको थियो ।

माधोपुर घर भएका पासवानको गौरस्थित डेराबाट रुबीको चप्पल फेला पारे पछि प्रहरीले हत्यामा उनकै संलग्नता भएको भन्ने निष्कर्षमा पुगेको थियो । रुबीको हत्या पछि मोबाइल अफ गरेर लक्ष्मण पासवान घर वरपर लुकेर बसेका थिए । बिहान जलेको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । घट्नास्थल पुगेको प्रहरीले पासवानलाई तत्कालै उपचारको लागि गरुडास्थित बेटर अस्पताल लगिएको छ ।

पूरै शरीर जलेर गम्भिर घाइते पासवानलाई थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए । पासवान बोल्न सक्दैनन् । उनी मुन्टो हल्लाउँछन् मात्र । पासवानको अनुहार पूरै डढेको छ ।