तनहुँ, भदौ ११ : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । महिला फुटबलको विकास र महिला सशक्तिकरणमा पुर्याएको योगदानका आधारमा उहाँलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको हो ।
समारोहमा गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ र शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले मङ्गलबार सयुक्तरुमा सावित्रालाई सम्मान गर्नुभयो । सो अवसरमा सांसद गुरुङले खेलाडीहरूले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने भएकोले खेलाडीको मनोबल उच्च बनाउन राज्य र समाजको दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख पण्डितले भन्नुभयो, “सावित्रा भण्डारी जस्ता खेलाडीले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गरिरहेका बेला उनीहरूलाई सम्मान गर्नु हाम्रो सामाजिक दायित्व हो । आवश्यक सुविधा र अवसर उपलब्ध गराएर उनीहरूलाई अझ ठूलो उपलब्धि हासिल गर्न प्रेरित गर्नुपर्छ ।”
सम्मान ग्रहण गरेपछि सावित्राले आफ्ना बाल्यकालका सङ्घर्ष र अनुभव सम्झिँदै युवालाई प्रेरित गर्नुभयो । उहाँले भन्नुभयो, “समाजबाट नकारात्मक तर्क आउन सक्छन् । तर ती तर्कलाई सुनेर पनि नसुनेको जस्तो गरेर अघि बढ्नुपर्छ, सही बाटो रोजेपछि बाधा त आउँछन्, तर परिवारको साथ भए जित्न सकिन्छ ।”
सावित्राले प्रारम्भिक दिनहरूको अनुभव सुनाउँदै भन्नुभयो, “मलाई मेरा बुबा–आमाले कहिल्यै खेलमा रोक्नुभएन, तर घरका काम सकेपछि मात्र खेल्न जाने अनुमति पाउँथें । खाली खुट्टा, मोजाको बल खेलेर सुरु गरेको यात्रा आज राष्ट्रिय टोलीको कप्तानसम्म आइपुगेको छ ।

सावित्राले भन्नुभयो, ‘‘काठमाडौँ जाने अघिल्लो दिनसम्म पनि मेरो खुट्टामा जुत्ता थिएन । गाउँ छाड्दा मोजाको बललाई छोडेर गएको थिएँ सङ्घर्षले यो स्थानमा आइपुगेकी छु ।”
उहाँले सन्देश दिनुभयो, “बालबालिकाको रुचि बुझेर परिवारले साथ दिनुपर्छ, जसले गर्दा उनीहरू जुनसुकै क्षेत्रमा पनि उत्कृष्ट बन्न सक्छन् । म उदाहरणको रूपमा उभिएकी छु, तर मेरो पछाडि परिवारको त्याग र साथ छ ।”
सावित्रा भण्डारीका उपलब्धिहरू पनि उल्लेखनीय छन् । उहाँले राष्ट्रिय टोलीका लागि ६० भन्दा बढी खेलमा ६६ गोल गरिसक्नुभएको छ । दक्षिण एसियामा महिला फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि सावित्रा हुनुहुन्छ । जसले भारतीय खेलाडी बाला देवीको रेकर्ड तोड्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई परिचित गराउनुभयो । हाल उहाँ फ्रान्सको शीर्ष लिग क्लब ग्याङ्गम्पमा खेल्दै युरोपमा पहिलो नेपाली महिला खेलाडी बन्नुभएको छ ।
समाज परिवर्तनका लागि व्यक्तिगत सोच र अनुशासन आवश्यक रहेको बताउँदै सावित्राले भन्नुभयो, “मोबाइल र सामाजिक सञ्जालमा मात्र रमाउँदा भविष्य बिग्रन्छ । खेल, अध्ययन र अनुशासनमा ध्यान दिनुपर्छ ।” सङ्घका पदाधिकारीहरूको महिला फुटबलको विकासलाई अझ संस्थागत बनाउनुपर्ने र सावित्राजस्ता खेलाडीलाई आदर्शका रूपमा लिन सकिने धारणा थियो ।
– अमरराज नहर्की
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










