काठमाडौँ, भदौ ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले तिजको दर खाने दिनको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले शुभकामना व्यक्त गर्नुभएको हो ।
“आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरियोस्” प्रधानमन्त्री ओली लेख्नुभएको छ, “तीजको दर खाने दिन । पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित यस पर्वले विवाहित छोरी र माइतीबिचको पारिवारिक मिलापलाई प्रगाढ बनाउँछ ।”
प्रधानमन्त्री ओलीले हिजोको समाजमा आजको जस्तो भौतिक सुविधा नभएको उल्लेख गर्दै हिजो एउटा गाउँबाट अर्को गाउँमा पैदल हिँडेर पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्नुभयो । “खोलानाला तर्ने पुल थिएनन्, खबर आदानप्रदान गर्ने माध्यमहरू थिएनन् । तिजमा विवाहित दिदीबहिनीहरूलाई लिन जाने चलन थियो । पुरानो पारिवारिक र सामाजिक जीवनका कठिनाइहरू तिजका पुराना गीतमा पाइन्छन् । दर माइती घरमा नै खाने चलन थियो” उहाँले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज संयुक्त परिवार संस्कृतिमा ठुलो परिवर्तन आएको बताउनुभएको छ । “सामाजिक व्यवस्थामा आएको परिवर्तनले महिलामा आत्मनिर्भरता र सशक्तीकरण बढिरहेको छ । त्यसैले दर खाने प्रचलनमा फेरबदल आएको छ ।
विवाहित छोरीसहित वर्षमा एक दिन भए पनि तीन पुस्तासम्म एउटै छानोमुनि बसेर दर खाँदै आत्मियता साट्ने अवसर हो” उहाँले भन्नुभयो । तीजको अघिल्लो दिन आज माइतीले चेलीबेटीलाई घरमा बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तिजको व्रतको पूर्व तयारीको रूपमा लिइन्छ ।