08/26/2025, 01:12:07

रुबी साह हत्या प्रकरण : सुटकेश लैजाने इ–रिक्सा चालक पक्राउ


चन्द्रपुर (रौतहट), भदौ ९ : रौतहटको माधव नारायण नगरपालिका–६ की रुबी कुमारी साहको शव रहेको सुटकेस ओसारपसारमा संलग्न एक व्यक्तिलाई अनुसन्धानको सिलसिलामा प्रहरीले सोमबार पक्राउ गरेको छ ।

शव रहेको सुटकेस ओसार पसारमा प्रयोग गरिएको इ–रिक्सा चालकलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

गौरदेखि गङ्गा पिपरासम्म पुराउन ५ सय रुपियाँ भाडा तय भएर गौरबाट हिँडेको इ–रिक्सामा समस्या आएपछि मुडवलबामै सुटकेस ओरालेर फर्केको इ–रिक्सा चालकले प्रहरीलाई बयान दिएको छ ।

सुटकेशभित्र के राखिएकोबारे आफू अनभिज्ञ रहेको इ–रिक्सा चालकले बयानमा भनेको छ । साथै प्रहरीले गौर बालमन्दिर पछाडि एक घरबाट रुबिले प्रयोग गर्दै आउनु भएको चप्पल भेटाएको छ ।  बाल मन्दिर पछाडि डेरा लिएर रुबिका प्रेमी बस्दै आएका थिए । रुबिका परिवारजनले हत्यारा रुबिको प्रेमी नै रहेको ठोकुवा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अनुसन्धानको नजिक पुगिसकेकाले हत्यामा संलग्नलाई छिट्टै सार्वजनिक गर्ने बताउनु भयो । रुबिको हत्या गरेर हत्याराले सुटकेसमा राखेको अवस्थामा प्रहरीले गौर गंगापिपरा सडक खण्डको मुडवलबाबाट शनिबार राती फेला पारेको थियो ।