काठमाडौँ, भदौ ४ : महिलाहरूको पर्व तिजले अहिले सबै वर्गलाई छोएको छ । फेरिएको तिज शैलीकै कारण हरेक वर्गको तिज पर्वप्रति आकर्षण बढेको देखिन्छ तर नयाँ पुस्ताका महिलाले तिजको असली संस्कृति बिर्संदै गएका हुन् कि भन्ने भान पनि हुन थालेको छ ।
तिज आउनु एक महिनापूर्व नै आधुनिकता, अश्लीलता र भड्किलो गीत/सङ्गीतसँगै तडकभडक र रमझम सुरु हुन थालेको छ । यसले नयाँ पुस्ताले तिजको संस्कृति बिस्तारै बिर्संदै गएका छन् । तिजमा छोरीचेली जम्मा भएर रमाइलो गर्ने परम्परालाई पछिल्लो पुस्ताले मतलब गर्न छोडेको मात्र छैन आफ्नै मूल्य र मान्यतासमेत स्थापित गर्दै लगेको पाइन्छ ।
रमाइलो गर्ने नाममा साथीभाइ जम्मा गरेर दर खाने नाममा अहिले तिजले बेग्लै रूप लिन थालेको छ । “तिज हामी महिलाको महान् चाड हो, यसलाई रमाइलो गरेर मनाउनु पर्छ तर यसको उपयोग सही ढङ्गले गर्न जानेन भने तिजको के मतलब भयो र,” गायिका अनुष्का पाठकले बताउनुभयो ।
तिजको अवसर भन्दै अहिले होटेल तथा पार्टी प्यालेसमा भोज खाने, नाचगान गर्ने, गहना प्रदर्शन गर्ने र तिज प्रतियोगिता आयोजना गर्ने चलन हाबी हुँदै गएको यत्रतत्र देखिन्छ । जमाना देखासिकीको हो । यहाँ नक्कल गर्ने धेरै छन् । त्यसैले नक्कल गर्नेहरू नै चल्तीमा छन् । हाल तिजमा महिलाले देखाइरहेका महँगो ढर्राको वास्तविकता सायद यही हो । संस्कृतिको जर्गेना गर्ने नाममा तिजलाई महँगो पर्व बनाइँदै छ । एक महिनाअघिदेखि फलानो र ढिस्कानो तिज कार्यक्रम राख्नेको ताँती नै लागेको छ । पहिले एक दिन खाइने दर अहिले दुई महिनासम्म खान थालिएको छ । तिजको व्रतको एक दिनअघि नाचिने नाच अहिले एक महिनाअघि नै नाच्न थालिएको छ ।
यद्यपि पछिल्ला पुस्ताका महिला यसलाई भड्किलो पर्व मान्न तयार छैनन् । “यो समयको माग हो नि,” भन्नेहरूको कमी छैन । “महिलाको पर्व हो, सधैँ पुरानै ढर्राले चल्नु पर्छ भन्ने पनि त छैन,” गायक नारायण थापा भन्नुहुन्छ, “सधैँ एउटै शैलीमा तिज मनाउँदा के को रमाइलो हुन्छ र यसो फेरिनु प¥यो नि !”
कुनै जमाना थियो, माइतीमा दर खाने र चौतारीमा धित मरुन्जेल नाच्ने गाउने । अनि आफ्नो घरको दुःख, पीडा र गुनासो माइती घरमा सुनाउने । टाढा माइती भएका या माइती नभएका महिला घरमै तिज मनाउँथे । माइत जान नपाएको पीडा गीतमार्फत पोख्थे । यो त्यो जमानाको कुरा हो, जतिबेला महिलाको संसार घर, घाँस–दाउरा र मेलापातमा सीमित थियो तर समय बदलिएको छ, महिलाको संसार फराकिलो भएको छ र तिज फेरिएको छ । त्यसैले तिज पनि उन्मुक्त शैलीको बन्दै गएको छ ।
पछिल्लो समय तिजको नाममा विकृति भित्रिएको छ । गरगहना प्रदर्शन गर्ने होडबाजी चलेको छ । होटेलमा गएर दर खाने प्रवृत्ति तिजको संस्कृति होइन तर त्यही संस्कृति बन्दै गएको छ । यस्ता क्रियाकलापले तिजको गरिमा घटाएको छ । मौलिकता मासिँदै गएको छ । अपनत्व टाढिँदै गएको छ ।