08/17/2025, 10:46:40

सबिर श्रेष्ठ निर्देशनमा ‘३६को आँकडा’को शुभमुहूर्त गर्दै फर्स्टलुक सार्वजनिक


१ भदौ, काठमाडौं : अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा निर्माण हुन लागेको नयाँ सिनेमा ‘३६को आँकडा’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । यो सिनेमाको आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दीरमा शुभमुहूर्त गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।

शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन् । प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ । पोस्टरमा रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ ।

आज सार्वजनिक पोस्टरले नेपाली सिनेमामा प्रायः नदेखिएको फरक दृश्य प्रस्तुत गरेको छ । दुई महिला पात्रबीचको द्वन्द्वलाई सिनेमाको केन्द्रमा राखिएको देखिन्छ, जुन सम्भवतः नेपाली सिनेमा इतिहासमा पहिलोपटक हो । यस आधारमा सिनेमाले विशेष खाले कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ ।