काठमाडौँ, साउन ३० : देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने चलन अहिले पनि गाउँघरतिर चल्दै आएको छ । छोरा जन्मिए राजा बन्छ, छोरी जन्मिई भने कुलको इज्जतका लागि बलि दिने चलनका अन्धविश्वासी कुरा अहिले पनि गाउँघरतिर सुनिन्छन् । यस्तै देवीदेवताको सेवा गर्न कन्या केटी चढाउने सामाजिक कुरीतिविरुद्धको कथा हो चलचित्र ‘मोहर’ । विभिन्न बहानामा बालिकामाथि हुने हिंसालाई बन्देज गर्नु पर्छ भन्ने सन्देश चलचित्रले प्रवाह गर्छ ।
गाउँमा सरकार चन्द (अर्जुनजङ्ग शाही) को हुकुमी शासन छ । आफूले भनेको नमान्ने र आफ्नो विरुद्धमा लाग्नेलाई उनी कतै छाड्दैनन् । उनका लागि मान्छे मार्नु भनेको आलु-प्याज काट्नु सरह हो । त्यही गाउँकी सिन्दुरी (नीति शाह) र प्रहरी उपरीक्षक शिवल (पल शाह) बिच मायाप्रेम बसेको छ । अचानक शिवललाई प्रहरी तालिमका लागि काठमाडौँ आउनुपर्ने हुन्छ । यता गाउँमा सिन्दुरीका बुवाले पैसाको लोभमा आफ्नी एउटा छोरीको विवाह सरकार चन्दसँग गराउँछन् । उनको कोखबाट छोरा जन्मिन्छ या छोरी ? छोरा जन्मिए राज गरेर बस्छ र छोरी जन्मिई भने देउकी चढाउन पर्छ भन्दै महारानी (लक्ष्मी गिरी) ले भाकल गर्छिन् । साँच्चै नै रानी जस्ती छोरी जन्मिन्छिन् तर कसैको मनमा प्रेमभाव उब्जिँदैन ।
सिन्दुरीको विवाहपछि शिवलको जीवन कसरी चल्छ । के उनी गाउँ फर्कन्छन् ? बालिकालाई बलि चढाउन सरकार चन्द सफल हुन्छन् कि हुँदैनन् । यिनै प्रश्नको जवाफको मिश्रण हो, चलचित्र ‘मोहर’ ।
कलाकारको अभिनय चलचित्रको कमजोर पक्ष बनेको छ । पल शाह पुरानै ढर्राको अभिनयबाट बाहिर निस्कन सक्नुभएको छैन । उहाँको एक्सन, नृत्यमा र अभिनयमा नयाँ कुरा केही पाइँदैन । लामो समयपछि चलचित्रमा पुनरागमन गर्नुभएको हुनाले भने दर्शक पलप्रति आकर्षित हुन सक्छन् । बेनिशा हमालको अभिनयले पनि खासै दर्शकको मन तान्न सक्दैन । नीति शाहले अभिनयमा केही सुधार देखिन्छ तर छोटो भूमिकाले गर्दा उहाँ कता कता हराउनुभएको हो कि भन्ने भान हुन्छ । अन्य कलाकार मिथिला शर्मा, लक्ष्मी गिरी, ओम प्रतीक लगायतको अभिनयलाई ठिकठाक भन्नु पर्छ ।
चलचित्रको राम्रो पक्ष भनेको यसको गीत/सङ्गीत हो । ‘चाहिँदैन मोहर चाहिँदैन सुकी’, ‘झुमझुम झुम्कीका’ दर्शकले रुचाउन सक्छन् । चलचित्रको संवाद, कथा र पटकथाले दर्शकको मन छुन सक्छ । यसै गरी चलचित्र रवीन्द्र झाको अभिनयलाई पनि हामीले बिर्सन हुन्न । पलको साथीका रूपमा देखिनुभएका उहाँको भूमिकाबाट दर्शक प्रभावित हुन सक्छन् । उहाँलाई हँसाउने विधा सुहाएको छ । यी पक्षमा निर्देशक ओम प्रतीकको मेहनत झल्किन्छ । निर्देशक प्रतीकले संस्कृतिसँगै हुर्केको कुप्रथाको मौलिक कथालाई बिलकुलै भिन्न स्वादमा पस्कन खोज्नुभएको छ । चलचित्रभित्र निर्देशक प्रतीकको पुरानो निर्देशकीय शैलीको गन्धले दर्शकलाई २:३० घण्टा हलमा बस्न बाध्य बनाउँछ ।