08/11/2025, 12:57:57

रेसुङ्गा विमानस्थलमा दुई हप्तादेखि उडान अवरुद्ध


गुल्मी, साउन २६ : गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसम प्रतिकूलताका कारण दुई हप्तादेखि उडान अवरुद्ध भएको छ । साउन १० गते अन्तिम उडान भएपछि मौसम खराबीका कारण पछिल्लो दुई हप्तादेखि रेसुङ्गा विमानस्थलबाट उडान नभएको विमानस्थलका प्रमुख प्रशान्त गौतमले जानकारी दिनुभयो ।

वर्षायाममा मौसम प्रतिकूलताका कारण यस विमानस्थलबाट उडान प्रभावित भएको छ । विशेषगरी असार र साउन महिनामा यहाँ मौसम प्रतिकूलताका कारण उडानमा समस्या आउने गरेको छ । यहाँका यात्रुको चापलाई ध्यानमा राख्दै हप्ताको चार पटक उडान हुने व्यवस्था मिलाइएको थियो । यस विमानस्थलबाट हप्ताको चार दिन आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः१० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७ः१० बजे उडान हुने समय तालिका छ । गुल्मीलाई सिधै काठमाडौँसँग जोड्ने हवाई यातायातको रूपमा रहेको छ । हवाई यातायातसँग जोडिएसँगै पर्यटकहरू घुम्नका लागि गुल्मीमा आउने गरेका छन् ।

रेसुङ्गा विमानस्थलदेखि काठमाडौँका लागि सात हजार ३०० रुपियाँ र काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार ५०० रुपियाँ भाडा कायम गरिएको विमानस्थल प्रमुख गौतमले बताउनुभयो । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको थियो ।

३५ करोड रुपियाँभन्दा बढी लगानीमा निर्माण भएको रेसुङ्गा विमानस्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । विमास्थल कुल १५६ रोपनी जग्गामा फैलिएको छ । विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधिग्रहण गरिएको छ ।