08/08/2025, 21:29:49

पाँच सय घुसमा तेस्रो पक्ष बिमा नै नगरी सवारीसाधन नवीकरण !

दुर्घटना कसरी कहाँ हुन्छ कसैले भन्न सकिने अवस्था होइन । ठुलो दुर्घटनामा परियो र तेस्रो पक्षको उपचार वा क्षतिपूर्ति दिनुपर्ने अवस्था आयो भने बिमा नगरे पनि सवारीधनीले तिर्नै पर्छ 


२३ साउन, काठमाडौं : सवारीसाधन नवीकरण गर्दा अनिवार्य गरिएको तेस्रो पक्ष बिमा नै नगरी नवीकरण हुने गरेको छ । मोटरसाइकल नवीकरणका लागि करिब एक हजार आठ सय रुपियाँ बिमा शुल्क लाग्ने गर्दछ । त्यस्तै चारपाङ्ग्रेका लागि सातदेखि आठ हजार रुपियाँ लाग्छ तर पाँच सय रुपियाँ घुस दिएपछि बिमा नै नगरी सवारी नवीकरण हुँदै आएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीबाट नवीकरण गर्ने अधिकांशले बिमा नगरेको पाइएको छ । सन्धुलीका विकास पौडेलले बिमाबापतको पाँच सय घुस दिएपछि सल्लाघारीबाट मोटरसाइकलको नवीकरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दाइको मोटरसाइकलको कर तिर्न बिमा गर्न जाँदै थिए । एक जना आएर यो पर्दैन पाँच सय दिनूस् हुन्छ भन्यो । बिमा गर्नै परेन । नवीकरण भयो ।

सवारीसाधनको नवीकरण गर्ने काठमाडौँ उपत्यकाका यातायात कार्यालयमा बिमा नगरी नवीकरण गर्ने गरिएको छ । यातायात व्यवस्था कार्यालय साना ठुला सवारी एकान्तकुनामा पनि बिमा नगरी नवीकरण हुने गरेको छ । कर्मचारीको मिलेमतोमा बिचौलियाले उक्त काम गर्दै आएका छन् । बिमा कम्पनीका व्यक्तिले पनि थोरै कमिसनका लागि नक्कली कागज बनाइदिने गरेका छन् । कर्मचारीकै मिलेमतोमा बिचौलियाले कानुन मात्र उल्लङ्घन गरेका छैनन्, मान्छेको जीवनसँग खेलबाड भइरहेको छ ।

यातायात व्यवसायीका अनुसार तत्काललाई एक हजार आठ सयको काम पाँच सयमा गराए पनि दुःख पाउने भनेको सवारीधनीले नै हो । दुर्घटना कसरी कहाँ हुन्छ कसैले भन्न सकिने अवस्था होइन । ठुलो दुर्घटनामा परियो र तेस्रो पक्षको उपचार वा क्षतिपूर्ति दिनुपर्ने अवस्था आयो भने बिमा नगरे पनि सवारीधनीले तिर्नै पर्छ । त्यतिबेला जायजेथा बेच्नुपर्ने अवस्था पनि आउन सक्छ । कानुन उल्लङ्घन गरेकोमा सजायको भागीदार पनि हुनु पर्छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर भन्नुहुन्छ, “अहिले एक/दुई हजारको लोभ गरेर, आफैँलाई जोखिममा पारेर भोलि लाखौँ खर्च भर्नुपर्ने अवस्था आउन सक्छ । तेस्रो पक्ष बिमा सवारीधनीका लागि हो, त्यस्तो जोखिम उठाउनु मूर्खता हो । प्रशासनले पनि यसलाई कडाइ गर्नु पर्छ ।” यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीका कार्यालय प्रमुख बद्रीप्रसाद निरौलाले भन्नुभयो, “तेस्रो पक्ष बिमा नगरी सवारी नवीकरण गर्न मिल्दैन । गरेका छैनौँ । यदि त्यस्ता घटना पाइएको खण्डमा हामीलाई भन्नुहोस् नियन्त्रणमा लिएर कारबाही गर्छौं ।

नक्कली बिमा बनाएर नवीकरण गर्न आएका घटना भने कहिलेकाहीँ फेला पारिएको प्रमुख निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “आँखाले देख्नेसम्म हामीले पहिचान गर्छौं । कहिलेकाहीँ नक्कली बिमा बनाएको पनि भेटिन्छ । कसैले मोबाइलमा बिमाको फोटो देखाउनुहुन्छ । विश्वास नगरौँ भने कति दुःख दिएको भनेर सेवाग्राही कराउनुहुन्छ, विश्वास गर्दा समस्यामा परिने सम्भावना रहन्छ ।

कसैले झुक्याएर बिमा नगरी नवीकरण गरेको हुन सक्ने तर त्यस्तो घटना पाइए कारबाही गरिने निरौलाको भनाइ छ । “यी सबै खालका छलछामबाट बच्न अब अनलाइनबाटै नवीकरण गर्न सक्ने गरी तयारी भएको छ । ब्लुबुक क्युआर लागु भएपछि यस किसिमका समस्या भोग्नु नपर्ला ।” सल्लाघारी कार्यालयमा दैनिक एक हजार जना सेवाग्राही सवारी नवीकरणका लागि आउने गर्छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार, मोटर बिमादरसम्बन्धी निर्देशिका, २०७३ अनुसार सार्वजनिक सडकमा कानुनी रूपमा सवारी चलाउन कम्तीमा तेस्रो–पक्ष बिमा गरिनु अनिवार्य छ । तेस्रोपक्षीय बिमा अन्तर्गत तेस्रो पक्ष र कर्मचारीको मृत्यु भएमा पाँच लाख र घाइते मात्र भएको हकमा तीन लाख रुपियाँसम्म क्षतिपूर्ति दिने व्यवस्था छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले सवारीका ब्लुबुक (निलो किताब) लाई अनलाइन प्रणालीमार्फत क्युआर कोड राख्ने काम सुरु गरेको छ । निलो किताबमा हुने सवारीसम्बन्धी सबै विवरण क्युआरबाट हेर्न मिल्ने छ । नवीकरण पनि अनलाइनबाट गर्न मिल्ने भएकाले यस्ता समस्या हट्ने भएको छ तर पूर्ण रूपमा कार्यान्वयन भने भइसकेको छैन । एकान्तकुना कार्यालयले हालसम्म करिब चार सय वटा चारपाङ्ग्रे सवारीको निलो किताबलाई क्युआर कोडमा राखेको छ । गुर्जुधारा कार्यालयले मोटरसाइकलको ब्लुबुक अनलाइनमा राख्ने काम गर्दै आएको छ ।