२२ साउन, काठमाडौं : किर्गिस्तानको चोल्पोन अटे सहरमा आयोजना भएको विश्व परम्परागत संस्कृति तथा सङ्गीत मेलामा नेपालको ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ ले प्रस्तुति दिएको छ । सो समूहमा रहेका कलाकारले मेलामा मादल, बाँसुरी, सारङ्गीलगायत नेपाली मौलिक वाद्ययन्त्रद्वारा दर्शकको मन जितेका थिए ।
‘कल्चरल ग्रुप’ को नेतृत्व संस्थाका प्रमुख डा. आरसी कोइराला ‘रामचन्द्र’ ले गर्नुभएको थियो । सो टोलीमा वरिष्ठ वाद्यवाधक धनेश्वर तिवारी, बाँसुरीवाधक राम भुजेल, सारङ्गीवाधक खुमबहादुर केसी तथा गायिका एवं मादलवादक रिताकुमारी बुढाथोकीको पनि सहभागिता रहेको थियो ।
किर्गिस्तानको मन्त्रीपरिषद् र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा अगस्त १ देखि ३ तारिखसम्म चोल्पोन–अटेमा भएको उक्त कार्यक्रममा ५० भन्दा बढी मुलुकका कलाकारको सहभागिता रहेको थियो । मेलामा सहभागी देशले आफ्ना मौलिक वाद्ययन्त्र, गीत, नृत्य र साङ्गीतिक प्रस्तुति दिएका थिए ।
डा. कोइरालाले भविष्यमा सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा यस्ता कार्यक्रमलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभएको थियो । तीन दशकभन्दा बढी समयदेखि नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले सक्रिय रहँदै आएका कल्चरल ग्रुपले यस पटकको किर्गिस्तान प्रस्तुतिमार्फत पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संस्कृति र पहिचानलाई उजागर गरेको छ ।