08/05/2025, 21:56:05

उर्लिएको राप्तीमा दाउरा सङ्कलन गर्न स्थानीयको भीड


२० साउन, खजुरा : बाँकेको डुडुवा गाउँपालिका वडा ४ सिधनवा घाटस्थित राप्ती नदी किनारामा दाउरा जम्मा गर्ने स्थानीयको भीड लागेको छ । स्थानीय ज्यानको जोखिम राखेर नदीमा पौडी खेलेरै दाउरा सङ्कलन गरिरहेका छन् ।

राप्ती नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न डुडुवा गाउँपालिकाका विभिन्न वडाका सयौँ स्थानीय मङ्गलबार बिहानैदेखि सिधनवा घाटमा व्यस्त देखिन्थे । नदीले माथिबाट बगाएर ल्याएका दाउरा स्थानीयले नदीको किनाराबाट लामो कैँची लौरो बनाएर त्यसैको माध्यमबाट तानेर बाहिर निकाल्ने गरेका छन् । कतिपय स्थानीय पौडी खेलेर नदीको मध्यभागमा पुगेर दाउरा निकाल्न सक्रिय देखिन्छन्।

डुडुवा ४ का स्थानीय खेमलाल सोनकरले बिहान ४ बजेदेखि नै दाउरा जम्मा गर्न नदी किनारामा आएको बताउनुभयो । उहाँले अहिलेसम्म स्थानीयले ४०–५० ट्रक दाउरा जम्मा गरेको जानकारी दिनुभयो । जम्मा गरेका दाउरामध्ये ठुला नेपालगञ्जसम्म लगेर बिक्री गर्ने र साना दाउरा घरमै प्रयोग गर्ने तथा मोटा काठको गोलियाबाट मिलमा चिरानका लागि प्रयोग गर्ने बताउनुभयो ।

अर्का स्थानीय विष्णुप्रसाद यादवले घरका सपरिवार दाउरा जम्मा गर्न आएको बताउनुभयो । प्रहरी प्रशासनले भने जोखिम मोलेर दाउरा सङ्कन नगर्न भने पनि स्थानीयले ज्यान जोखिममा राखेर दाउरा सङ्कलन गरिरहेको देखिन्छ । यसमा प्रशासनले हस्तक्षेप भने गरेको छैन।