08/04/2025, 00:08:54

फिल्म ‘रियाल रिंगेट’को प्रदर्शन रोक्ने निर्माताको निर्णय


साउन १८, काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रियाल रिंगेट’का निर्माताले प्रदर्शन रोक्ने निर्णय गरेका छन् । विज्ञप्ति जारी गर्दै निर्माता गगनलाल प्रधानले सोमबारदेखि प्रदर्शन स्थगन गरिएको जनाएका हुन् । उचित समयमा शो नदिएको कारण प्रदर्शन रोक्ने निर्णय गरिएको निर्माता प्रधानले जनाएका छन् ।

दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त हुँदाहुँदै र हललाई बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शोको बारेमा बेवास्ता गरिएको कारणले हामीले प्रदर्शन स्थगित गर्ने जस्तो कठोर निर्णय लिन बाध्य भयौँ’ निर्माता प्रधानले उल्लेख गरेका छन् ।

निर्माणमा परिश्रम, मेहनत र लगानीअनुरूप प्रदर्शन समय नपाएकाले बाध्य भएर हलबाट निकाल्नु परेको विज्ञप्तिमा जनाइएको छ । रेबेल फिल्म्सले यस निर्णयबाट उत्पन्न असुविधाप्रति दर्शकसामु क्षमायाचना पनि व्यक्त गरेको छ ।

विभोर पोखरेलले निर्देशन गरेको फिल्मले खाडी मुलुकमा रोजगारीको सिलसिलामा गएका नेपालीको जीवन भोगाइलाई पर्दामा उतारेको छ ।

प्रमुख भूमिकामा प्रमोद चौलागाईं र नीता ढुङ्गाना छन् । छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापाको अभिनय छ ।