08/03/2025, 18:25:42

‘घरखेतको मायाले गाउँमै बसेको छु, सीपले मूल्य पाएको छ’


१८ साउन, गुल्मी : अहिले ६८ वर्षको भएँ । घरमा एक्लै बस्छु । श्रीमती चुमकुमारी भण्डारीले साथ छोडेर स्वर्गवास भएको पनि ७ वर्ष भयो । उनलाई बाथसम्बन्धी समस्या थियो । उपचारका लागि बुटवलसम्म लगे पनि निको पार्न सकिनँ ।

मेरा दुई छोरा र एक छोरी छन् । छोराबुहारी बुटवलमा बस्छन् । म धुर्कोट गाउँपालिका–५ गानटारीमा बस्छु । घरमा एक्लै भएपछि सहर लैजान छोराबुहारीले खोजिरहेका छन् । तर म गाउँमै बस्ने रहरले यहीँ छु । सहर जान मन छैन । घरखेतको माया लाग्छ, यसले छोडेर नजान भनेजस्तो लाग्छ ।

घर एक्लै भए पनि यत्तिकै बस्ने कुरा भएन । म काम गरेरै समय बिताउँछु । एउटा भैँसी पालेको छु । यही साउन २० मा भैँसी ब्याउने छ । त्यसैलाई घाँस काट्ने र गोबरसोत्तर गरेर बसिरहेको छु । एउटा गाई पनि पालेको थिएँ । अहिले गाई पाल्न नसकेर अर्कैलाई दिएँ । अहिले भैँसी मात्रै पालेको छु ।

पहिलेदेखि नै घरमा हजुरबुबा र हजुरआमासँग बस्थेँ । कक्षा ८ मा पढ्दापढ्दै गुलेली खेलाउन लागेर पढाइ छोडेँ । पछि छुट्टै बस्न थालेपछि केही न केही गर्नुपर्ने भयो । त्यसपछि मैले सानै हुँदाको सीपलाई पेसाका रूपमा अगाडि बढाएँ । गुललीबाट सिकेको सीप काठका विभिन्न सामग्री तयार गर्नेसम्म पुगेँ ।

अहिले मैले २ सय रुपैयाँको गुलेलीदेखि १ हजार ५ सय रुपैयाँसम्मको हलो र जुवा बनाएर बेच्ने गरेको छु । यसको अलावा मैले मदानी, लठ्ठी, नेती, खोक र नाम्लोसहित काठबाट बन्ने अन्य सामग्री पनि तयार गर्छु । पहिले तयार गरेर राख्ने अनि पछि बेच्ने गर्दथेँ । बिस्तारै बजारमा माग घट्दै गयो । त्यसपछि मैले माग आएमा मात्रै काठका सामग्री तयार गर्न थालेको छु ।

मैले तयार पारेको नाम्लोलाई हेरर ५ सय रुपैयाँसम्म पर्दछ । दुई दिनमा एउटा नाम्लो तयार गर्छु । लठ्ठीलाई १ हजार २ सय रुपैयाँसम्म पर्दछ । हलो र जुवा १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुन्छन् ।

यही पेसाबाटै मैले घरखर्च चलाउने, छोराछोरी पढाउने र स्वास्थ्य उपचार लगायतका कामहरू गर्दै आएको छु । अहिले आम्दानीभन्दा पनि घरखर्च राम्रैसँग चलेको छ ।

मैले खेतमा मकै र धान खेती पनि गरेको छु । वर्षमा १५ मुरी मकै, ३० मुरी धान, ८ मुरी गहुँ र १५ क्विन्टल आलु उत्पादन हुन्छ । यही उत्पादनलाई आˆनो पसिनाको मुल्य मानेको छु । यस वर्ष काँक्रा, घिरौला, लौका र करेलाका विरुवा पनि थोरैधेरै बिक्री गरेँ । यसबाट पनि घरखर्चलाई केही न केही सहयोग पुगेको छ ।

आफ्नो सीप गाउँमा समय बिताउने र घरखर्च चलाउने माध्यम बनेको छ । वर्षभरमा कम्तीमा पनि डेढ लाख रुपैयाँ आम्दानी हुन्छ । खासै हिसाबकिताब राख्ने गरेको त छैन । त्यही पनि १ लाख रुपैयाँ लगानीमै खर्च हुन्छ । अरु पैसाले घरखर्च चल्छ । घरकै धानले भात खान पुगेको छ । केही मात्रामा धान, मकै, गहुँ र आलु बेच्ने गरेको छु । मलाई घरलाई पुगेर बाँकी रहेको बिक्री गर्छु । त्यसैले घरखर्चमा त्यति ठूलो खर्च हुँदैन । लुगाफाटामा पनि मेरो त्यस्तो खर्च छैन ।

काठका सामग्री बनाउन थालेको अहिले त ३० वर्ष पुग्यो । विदेश भनेपछि कतै गएकै छैन । नुन बोक्न सुनौलीसम्म गएको याद छ । होइन भने म त्यसभन्दा टाढा गएको छैन । गाउँघरमै सन्तुष्ट छु । समयमा सिकेको सीप अहिले घरखर्च र समय बिताउने माध्यम बनेको छ । केही न केही सीप चाहिँ आवश्यक रहेछ भन्ने लागेको छ ।

अहिले यस्ता हलो, जुवा, मदानी, काठकै लठ्ठी, नेती, नाम्लो र गुलेली जस्ता सामग्रीको प्रयोग बिस्तारै घट्दै गएको छ । सहरमा त यी सामग्री चिन्न पनि छाडिसके । तर गाउँमा हल्काफुल्का भए पनि प्रयोगमा आएका छन् ।

हाम्रो पछिल्लो पुस्ताले यस्तो सीप सिक्दैन । यसैलाई व्यावसायिक रुपमा पेसा नभए पनि सीपचाहिँ आवश्यक छ । सीप भएमा भोके मर्नु पर्दैन । केही न केही सीप आवश्यक छ । जस्तो भए पनि सीप चाहिन्छ, सीप सिकेको मान्छे कहिल्यै पछि पर्दैन । सीप सानो र ठूलो हुँदैन । सीपको सम्मान आवश्यक छ ।

– सन्तोष महतारा