१८ साउन, काठमाडौं : छायांकन नसकिँदै फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्नु नेपाली फिल्म क्षेत्रका लागि नौलो विषय होइन । फिल्म बन्ने घोषणा गर्दा नै प्रदर्शन मिति सार्वजनिक गरिनु पुरानै चलन भइसक्यो । कतिले छायांकन हुँदाहुँदै त कहिले प्रोडक्सनको अन्तिम चरणमा फिल्म प्रदर्शनको मिति तय गरिरहेका हुन्छन् ।
छायांकनरत अर्को फिल्म ‘मिरमिरे‘ले फेरि यही चलन दोहोर्याएका छन् । मकवानपुरको चित्लाङमा छायांकन हुँदै गर्दा माघ १ मा फिल्मलाई प्रदर्शनमा ल्याउने तय भएको छ । फिल्मको प्रमुख अभिनेत्री सिर्जना निङ्लेखुको जन्मदिनकै दिन निर्माण पक्षले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । फिल्मलाई यम शेर्पाले निर्देशन गर्दैछन् । फिल्मको छायांकन असार २१ सुरु भएको थियो ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा अभिनेता दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङ्लेखु प्रमुख भूमिकामा छन् ।
फिल्ममा अन्य कलाकार माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतको अभिनय रहनेछ । यमको पहिलो निर्देशन ‘कार्साङ‘मा अभिनेता दयाहाङकै मुख्य भूमिकामा थियो ।