09/18/2025, 16:42:27
बिहिबार, असोज ०२, २०८२

गाजामा युद्धविरामका लागि हमासले हतियार नत्याग्ने


१८ साउन, गाजा : गाजामा युद्धविरामका लागि इजरायलले राखेको निशस्त्रीकरणको माग हमासले अस्वीकार गरेको छ । सार्वभौम प्यालेस्टीनी राज्य स्थापना नभएसम्मका लागि आफूहरु हतियार बिसाउन तयार नहुने हमासको भनाइ छ ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्येपूर्व दूत स्टिभ विटकफले हमासले हतियार बिसाउन इच्छा देखाएको भनेर गरेको टिप्पणीको प्रतिक्रियामा आतंकवादी संगठन हमासले इजरायलको यस्तो शर्त मान्न नसकिने बताएको हो ।

इजरायलले गाजामा युद्ध अन्त्यका लागि हमासको निशस्त्रीकरणलाई प्रमुख शर्तका रुपमा अगाडि सारेको छ । इजरायल र हमासबीच युद्धविराम र बन्धकको रिहाइबारे चलिरहेको अप्रत्यक्ष वार्ता पनि गत साता अवरुद्ध भएको थियो ।

फ्रान्स र क्यानडासहित कतिपय पश्चिमा देशहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने योजना सार्वजनिक गरेपछि केही दिन यता अरब सरकारहरूले हमासलाई हतियार त्याग्न अनि गाजाको नियन्त्रण छाड्न आग्रह गरिरहेका छन् । यूकेले भने सेप्टेम्बरसम्म इजरायलले उसका केही शर्त नमाने त्यसो गर्ने भनेको छ ।

आतंकवादी संगठन हमासले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जेरुसलेम राजधानीसहितको स्वतन्त्र, तथा पूर्ण सार्वभौम प्यालेस्टीनी राज्य स्थापना नभएसम्म हाम्रो ‘विद्रोह तथा हतियार’का अधिकार त्याग्न सकिँदैन ।

यता इजरायल डिफेन्स फोर्सका प्रमुख इयाल जमिरले हमासले बन्धक राखेकाहरुलाई छिट्टै रिहा नगरे गाजामा युद्ध थप चर्किने चेतावनी दिएका छन् । यस्तै हमासले शनिबार एक बन्धकको भिडियो सार्वजनिक गरेको छ । एम्यातार डेभिड नामका बन्धकको भिडियो सार्वजनिक भएपछि उनको परिवारले सुरुङमा राम्रोसँग खाना समेत नदिएको र यातना दिएको आरोप लगाएको छ ।

अँध्यारो सुरुङमा कमजोर र माथिल्लो जीउमा लुगा नलगाएका अवस्थामा रहेका उनको भिडिओ हमासले सार्वजनिक गरेपछि परिवारले एक विज्ञप्ति जारी गर्दै उद्धारका लागि सरकारसँग अनुरोध गरेका छन् ।

परिवारले उनलाई भोकै राखिएको तथा प्रोपागान्डाका लागि प्रयोग गरेको आरोप हमासलाई लगाएको छ । साथै परिवारले इजरायली सरकार र अमेरिकालाई उनको जीवनरक्षाका लागि हरसम्भव उपाय गर्न अपिल गरेको छ ।