श्रावण १३, चितवन : जंगली जनावर बाघबाट निकै आक्रान्त गाउँ हो चितवनको दक्षिणी भेगमा पर्ने माडीको अयोध्यापुरी । चितवन राष्ट्रिय निकुञ्ज र सोमेश्वर पहाडको जंगलले चारै तिरबाट घेरिएको पूरै नै माडी वन्यजन्तुले हैरान पारेको ठाउँ हो ।
माडीभित्र अयोध्यापुरी झनै पिडित मानिन्छ । ६० को दशकसम्म जंगली जनावरको एकपछि अर्को आक्रमणको घटनाले निकै अत्याएको यो ठाउँमा पछिल्ला वर्षहरुमा घटनाहरु निकै कम भएर गएका छन् ।
बाघ लगायतका जनावरको आक्रमण यहाँ कसरी घट्यो ? चितवन निकुञ्ज क्षेत्रमा पहिलाको भन्दा सबै खाले जंगली जनावरहरुको संख्या बढ्दो छ । जंगली जनावरहरुबाट जोगिने सम्बन्धमा आफूहरुले विभिन्न गतिविधि र स्थानीयलाई जंगली जनावरहरुको स्वभाव आनीबानी बुझाउने अभियान चलाउँदै आएको माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक बताउँछन् ।
तर पनि ठ्याक्कै के कारणले वन्यजन्तुको आक्रमण घटेको हो ? त्यसबारे विज्ञहरुले अध्ययन अनुसन्धान गरे राम्रो हुने उनले बताए । बाघको डर कस्तो हुन्छ ? अझ आँखै अगाडि आफन्त र साथी भाइलाई बाघले आक्रमण गरेर ज्यान लिएको टुलुटुलु हेरेर मात्रै बस्नुपर्ने बाध्यता हुँदा मन कति चिरिन्छ ? माडी अयोध्यापुरी बगइ गाउँका राजेन्द्र न्यौपाने यो त्रासदीपुर्ण अवस्थाबाट गुज्रिसकेका छन् ।
२१ वर्ष पहिले अयोध्यापुरी गणेशकुञ्ज गाउँका पाँचजना वनभोज खान जंगल जाने भए । त्यता जान लागेका पदमलाल अधिकारीका जेठान हुन् राजेन्द्र । पदमलाल विदेशबाट आएका थिए । त्यसैले रमाइलो गर्न जान लागेका पाँचजनाको टोलीमा पदमले जेठान राजेन्द्रलाई पनि सामेल गरे ।
गाउँबाट निकै पर जंगलमा रहेको निलो रह (ताल)मा दिनभर रमाइलो गरेर फर्कन लाग्दा पदमले बाघ आए लखेट्न पर्दछ भन्दै लौरो काटे । ‘लौरो काटेर यस्सो हिँडेका मात्रै के थियौं कता हो कताबाट एक्कासी झ्याम्मै बाघ आइ हाल्यो,’ राजेन्द्रले भने । अचानक झुल्केको बाघले बिजुलीको गतिमा ज्वाइँ पदमलाई झम्टेर लग्यो भन्छन् राजेन्द्र । हेर्दा हेर्दै त्यहाँको अवस्था कहाली लाग्दो बन्यो । सवै रुने कराउने काँप्ने गर्न थाले ।
ज्वाईलाई बाघबाट फुत्काउन राजेन्द्रले अन्तिम प्रयास गर्ने आँट गरे । साथीको हातमा हसिया थियो । हसिया माग्दा डरले काँप्दै बसेको साथीले दिँदै दिएन । उनले खोसेर आफैंले बाघको पुच्छर तिर हाने । त्यसपछि रनथनिएको बाघले अन्धाधुन्ध आक्रमण गर्न लाग्यो । उनले यता ऐया, उता ऐया गरेको सुने । ‘ज्ञानु तमाङ थियो उसले ल दाई म त मर्ने भएँ तपाई जोगिनुस भन्यो’ राजेन्द्रले सुनाए ।
त्यसपछि उनी बेतोडले दौडिए । केही पर एउटा रुख देखे । खासै रुख चढ्ने नगरेका उनी अरु उपाए नभएपछि सम्हालिदै त्यसैमा चढे । साँझ पर्न लाग्यो । उनलाई लाग्यो, म त जोगिए खै अरुलाई के के भयो ? औंसीको बेला थियो । निस्पट्ट अँध्यारो । उनी चिच्याउँछन् । त्यो घनघोर जंगलमा कल्ले सुन्ने उनको आवाज । सँगै गएका साथीहरु कोही केही बोल्दैनन् । न ए्यो, न आत्थु, न एसो न उसो । उनलाई लाग्यो ‘कोही बचेनन् ।
बेला बेलामा बाघ मजैले गर्जन्थ्यो । कता रुखबाट लडिने पो हो कि भनेर उनले सर्ट खोलेर आफ्नो ज्यान रुखमा कसे । भोक त सहन सक्थे तर राति बेस्सरी पानी तिर्खा लाग्यो । बाघको डर, साथीहरुको हालत सबै कुरा सोचेर ल्याउँदा उनी डाँको छाडेर रुन चिच्याउन खोज्थे तर आवाज सुनेपछि बाघ पनि गर्जने गरेका कारण उनले आफूलाई सम्हाले । उज्यालो भयो, बाघ उनी चढेकै रुख वरपर आउन थाल्यो ।
तिर्खाले अति नै छटपटिएपछि उनी रुखबाट ओर्लिए । बाघले मार्ने भन्दा पनि तिर्खाले बेहोस हुने खतरा बढेपछि उनले यस्तो निर्णय लिएका थिए । तर बाघ अलि बेर पछि लाग्ने रोकिने गर्न थाल्यो । बाघ पछि लाग्दा उनी हात जोडेर बिन्ती गर्दथे । ‘ए देवि मलाई छाड बरु के चढाउने हो चढाउँछु’ भनेर भाकल गर्दथे । अलि बेरपछि बाघ अडियो उनी गाउँ पुगे । उनले त्यत्रा मान्छे मारेको बाघ भएको ठाउँमा एक्लै १७ घण्टा गुजारे ।
विस २०६० सालको चैत्र १२ मा भएको थियो यो घटना । राजेन्द्रका ज्वाइँ पदमबहादुरसहित ज्ञानु भन्ने ज्ञानबहादुर तामाङ, सन्तबहादुर प्रजा चोपाङ, सार्की दमाई र बृजमान तमाङको बाघले ज्यान लिएको थियो त्यो दिन । रमाउन गएका ६ जनामध्ये एकजना राजेन्द्र मात्रै घर फर्किए । ‘त्यो कालो दिन सम्झदा अझै पनि झस्कन्छु । जंगल जानै नपरोस जस्तो लाग्छ । तर गाई बाख्रा छन् नगइ हुन्न’ राजेन्द्रले भने ।
अयोध्यापुरी बाघ लगायत गैंडा, जंगली हात्तीले धेरै नै सताएको ठाउँ हो । राजेन्द्र जस्ता आफन्त साथी भाइ गुमाएका यो गाउँमा अरु पनि छन् । माडीमा पहिला चार गाउँ विकास समिति (गाविस) थिए । पछि सबैलाई मिलाएर माडी नगरपालिका बन्यो । चितवन निकुञ्जमा २०५४ सालदेखि निकुञ्ज आडको बस्तीलाई मध्यवर्ती क्षेत्र घोषणा गर्दै उपभोक्ता समिति गठन भए ।
मध्यवर्तीका हाल २१ उपभोक्ता समिति र एक उपसमिति छन् । तत्कालीन पूरै आयोध्यापुरी गाविसलाई समेटेर गठन भएको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिमा हालको माडी नगरपालिकाको ७ नम्बर वडाको आंशिक र आठ र नौ नम्बर वडा पूरै भाग पर्दछ । जहाँ २२ सय घरधुरी बसोबास गर्छन् ।
‘मध्यवर्ती गठन भएयता हालसम्म यहाँ जंगली जनावरहरुले ३१ जनालाई मारेको रहेछ,’ मध्यवर्ती अध्यक्ष शिवजी गायकले भने । ३१ मध्ये १७ जनालाई बाघले मारेको समितिको विवरणमा उल्लेख छ ।
अयोध्यापुरीमा २०५५ सालको फागुन २२ मा भएको घटनामा मध्यवर्ती समितिले पहिलो पटक दिवंगत व्यक्तिका परिवारलाई राहत दिएको थियो । त्यो बेला चिसबहादुर गुरुङलाई बाघले मारेको थियो । राहत दिएको दोस्रो घटना पनि बाघ आक्रमणबाट मृत्यु भएकै थियो । त्यसपछि २०६३ सालको मंसिर २२ सम्म आठ वर्षमा वन्यजन्तु आक्रमणमा परेर १६ जनाको निधन भयो । तिमध्ये बाघबाट ज्यान गुमाउने १३ जना थिए ।
मध्यवर्तीको विवरण अनुसार वन्यजन्तुबाट ज्यानै जाने गरेर हुने आक्रमणका घटना २०७९ सालको बैशाख २० गतेबाट भएको छैन । त्यो अन्तिम घटना पनि बाघले नै मान्छे मारेको थियो । २०६३ सालयता २०७९ सालसम्म १६ वर्षको अवधिमा जंगली जनावरको आक्रमणमा परेर १५ जनाको निधन भएको छ । यो समयमा बाघको आक्रमणमा परेर ज्यान गुमाउने ४ जना थिए । यो अवधिमा जंगली हात्तीको आक्रमण बढेको देखिन्छ ।
अर्थात पहिलो आठ वर्षको तुलनामा पछिल्लो १६ वर्षमा सवै खाले जनावरहरुबाट हुने मानव मृत्युको संख्यामा कमी आएको छ । त्यसमाथि बाघबाट हुने मानव मृत्यु त झनै उल्लेख्य मात्रामा घटेको छ । अयोध्यापुरीको पश्चिम सिमानामा मात्रै मानव वस्ती छ । उत्तरमा चितवन राष्ट्रिय निकुञ्जको घना जंगल छ । दक्षिणमा सोमेश्वर पर्वतको जंगल छ । चितवन निकुञ्जमा र सोमेश्वर जंगल दुवैमा बाघ छन् ।
नेपालमा सवैभन्दा धेरै १९८ वटा बाघ चितवन निकुञ्जमा छन् । २०८० सालको असोजमा ४० दिन लगाएर गरेको सर्वेक्षणमा सोमेश्वर क्षेत्रमा १४ वटा बाघ देखा परेका थिए । त्यसअघि २०१८ को अनुगमनमा तीनवटा मात्रै बाघ भेटिएको सोमेश्वर क्षेत्रमा सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा आठवटा बाघ थिए । अयोध्यापुरीसँग जोडिएको वन क्षेत्रमा पछिल्लो समय बाघको उपस्थिति बढेको छ । तर घटना कम भएको छ ।
‘पहिला वन र वस्तीबीच कुनै छेकबार थिएन । मान्छे पनि गाईभैँसी बाख्रा चराउन जंगल जान्थे । घाँस दाउरा गर्नै पर्ने बाध्यता थियो, अहिले कम भएको छ । पछि हामीले तारबार गर्न थाल्यौं । स्थानीयलाई आक्रामक जंगली जनावरहरुको स्वभाव बानी ब्यहोराका बारेमा घर दैलो नै थरेर पढाउन बुझाउन थाल्यौं । यसैको प्रभाव देखिएको होला’ अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष मथुरा भण्डारीले भने । उनी २०५९ पछि २० वर्ष अध्यक्ष थिए ।
समितिका वर्तमान अध्यक्ष शिवजी गायक निकुञ्ज र संरक्षण क्षेत्रमा कार्यरत संघ संस्थाहरुको साझेदारीमा आफूहरुले विभिन्न गतिविधिहरु गर्दै आएको बताए । ‘जनावरको संख्या बढेको अवस्थामा पनि स्थानीयको ज्यानै जाने तहका घटनाहरु कम हुनु सुखद पक्ष हो । यसो हुनुको कारण पत्ता लगाए अन्यत्र पनि सिकाइको विषय बन्ने थियो । त्यसैले अलि अध्ययन अनुसन्धान गरेरै निचोडमा पुगौं’ अध्यक्ष गायकले आग्रह गरे ।