काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसका कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गर्नुभयो ।
“पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो”, अध्यक्ष ओलीले भन्नुभयो, “जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो थरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरूको सङ्गठनलाई गतिशील रूपमा हाँक्नसक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै विरासत बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन ।”
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उहाँकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।