07/21/2025, 06:15:12

इरानका आणविक स्थलहरु पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी


वासिङ्टन, ३ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रहरूमा अमेरिकी बमबारीले ती स्थानहरू ‘पूर्णतया ध्वस्त’ भएको बताउनुभएको छ ।

आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले ‘इरानका तीनवटै आणविक स्थलहरू पूर्णरुपमा ध्वस्त वा नष्ट गरिएको’ दाबी दोहो¥याउनुभएको छ । उहाँले भन्नुभयो, “उनीहरूलाई सेवामा फर्काउन वर्षौं लाग्नेछ र यदि इरानले त्यसो गर्न चाहेको खण्डमा उनीहरूले तीन फरक फरक स्थानमा नयाँ तरिकाले सुरु गर्नु राम्रो हुनेछ ।

गत जुन २२ मा अमेरिकाले हवाइ आक्रमण गरी इरानको विवादास्पद आणविक कार्यक्रमस्थलमाथि धावा बोलेको थियो । आक्रमणमा तेहरानको दक्षिणमा रहेको फोर्डोस्थित युरेनियम संवद्र्धन केन्द्रका साथै इस्फाहान र नातान्जका आणविक स्थलमा व्यापक क्षति भएको थियो ।

इरानी आणविक र सैन्य पूर्वाधारविरुद्ध इजरायलको अभियानका क्रममा भएका यी बम विस्फोटलाई वासिङ्टनले आणविक हतियार निर्माण गर्ने वर्षौं लामो गोप्य प्रयासको ‘नकआउट’ प्रहारका रूपमा लिएको थियो । इरानले आफ्नो असैनिक आणविक शक्ति कार्यक्रमलाई हतियार बनाउने प्रयास नगरेको दाबी गर्दै आएको छ ।

ट्रम्पले पूर्ण रूपमा सफलता हासिल गरेको दाबी गरे पनि धेरै अमेरिकी सञ्चार माध्यमहरूले चुहिएको गुप्तचर सूचनाको हवाला दिँदै आक्रमणबाट सबै इरानी आणविक र सैन्य पूर्वाधार नस्ट नभएको दावी गरेका छन् ।

एनबीसी न्यूजले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टमा सेनाको क्षतिको आँकलनलाई उद्धृत गर्दै तीनमध्ये एउटा स्थल मात्र ध्वस्त भएको उल्लेख गरिएको छ । एनबीसीका अनुसार अन्य दुई स्थल मर्मत योग्य मानिएका छन् र आगामी केही महिनाभित्र युरेनियम संवद्र्धनका गतिविधिहरु पुनः सुरु गर्न सक्षम हुनसक्ने छन् । एनबीसीका अनुसार पेन्टागनले ट्रम्पले रोजेको एक रातको अपरेसन नभई केही हप्तासम्म चल्ने बमबारी अभियानमार्फत इरानको सुविधामा अझ बढी क्षति पु¥याउने विकल्प तयार पारेको थियो ।

एक वर्तमान र एक पूर्व अधिकारीलाई उद्धृत गर्दै गरिएको रिपोर्ट अनुसार राष्ट्रपति ट्रम्पले हताहत हुने र द्वन्द्वमा फस्ने डरका कारण थप व्यापक आक्रमण योजनालाई अस्वीकार गर्नुभएको थियो ।