07/17/2025, 18:57:37

सामुदायिक शिक्षाको गुणस्तर वृद्धि र विस्तार आवश्यक छ : सभापति देउवा


काठमाडौँ, १ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि र विस्तार आवश्यक रहेकामा जोड दिनुभएको छ ।

नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक शिक्षा गुणस्तर वृद्धिका लागि भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

सभापति देउवाले वैज्ञानिक, प्राविधिक र व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न सकेमा ज्ञान र सीपका साथै रोजगारीमा पनि सहज हुने बताउनुभयो । शिक्षाको पहुँच देशका कुना कन्दरामा पुर्याउनुपर्नेमा जोड दिँदै उहाँले सामुदायिक शिक्षाको सिकाइले मुलुककोे शिक्षा क्षेत्रको विकासमा योगदान दिएको उल्लेख गर्नुभयो ।

मुलुकको समग्र शिक्षा क्षेत्रको विकासमा सामुदायिक शिक्षा सिकाइले महत्त्वपूर्ण भूमिका खेलेको छ । अब सामुदायिक शिक्षा सुधारमा जोड दिनुपर्ने आवश्यकता छ”, सभापति देउवाले भन्नुभयो,  “सामुदायिक विद्यालयले सेवामुखी भई मुलुकको शिक्षा विकासमा योगदान दिएको छ । त्यसमा क्रियाशील शिक्षक तथा कर्मचारीको मेहनत र पसिना सिञ्चित छ । यसलाई पनि ध्यानमा राखेर प्रोत्साहन गर्नुपर्छ ।