काठमाडौँ, २५ असारः आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन भएका छन् ।
नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, निजामति कर्मचारी अस्पताल लगायत देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन् ।
वीर अस्पतालका निर्देशक प्राडा दीलिप शर्माले आजदेखि बहिरङ्ग विभागको साथै सबै सेवा सुचारु गरिएको बताउनुभयो । “सरकार र चिकित्सकबीच सहमति भएपछि आजदेखि हामीले नियमित सबै सेवा सुरु गरेका छौँ,” उहाँले भन्नुभयो ।
चिकित्सकका कारण सोमबार र मङ्गलबार आकस्मिक सेवा बाहेकका सबै सेवा अस्पतालमा बन्द गरिएको थियो । सेवा ठप्प भएपछि बिरामीले उपचार गर्न पाएका थिएनन् ।
उपभोक्ता अदालतले उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै क्षतिपूर्ति भराउने निर्णय गरेपछि चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।