काठमाडौँ, २५ असार : प्रतिनिधिसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको छ । सभाको आजको बैठकले उक्त संशोधन बमहुमतबाट स्वीकृत गरेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त संशोधनउपर विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विधेयकमा राम्रो सुझाव र सल्लाह प्राप्त भएको बताउनुभयो । “राष्ट्रियसभाबाट प्राप्त सुझाव राम्रो छ, छलफलमा सहभागी भई सुझाव दिनुभएकामा सबै सांसदलाई धन्यवाद र संशोधन स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु”, उहाँले भन्नुभयो ।
सो विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि यही असार २४ गते प्रतिनिधिसभामा छलफल भएको थियो । दुवै सदनबाट पारित भइसकेको सो विधेयक अब प्रमाणीकरणको प्रक्रियामा जानेछ । प्रतिनिधिसभाको अर्को बैठक यही असार २९ गते अपराह्न १ बजे बस्नेछ ।