काठमाडौँ, २५ असार : प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भोटेकोशीमा आएको बाढीका कारण धेरै जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार, खोज, उद्धार, राहत र पुनःस्थापनाको माग गरेका छन् ।
बैठकको विशेष समयमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले भोटेकोशीमा आएको बाढीले अपुरणीय क्षेत्र भएको र ६ विदेशी नागरिकसहित १९ जना मानिस बेपत्ता हुनुभएकाप्रति दुःख व्यक्त गर्दै राहत र खोजी कार्यमा सरकारले अझै जोड दिनुपर्ने बताउनुभयो ।
नेकपा (एमाले)का सुहाङ नेम्वाङले रसुवालगागयत अन्य ठाउँमा आएको बाढीले जनधनमा ठूलो क्षति पुर्याएकाप्रति दुःख व्यक्त गर्दै यस विषयलाई गम्भीरतापर्वूक हेर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता अमनलाल मोदीले रसुवामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै तत्काल उद्धार, राहत र क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभयो । उहाँले संसद् भनेको जनताप्रति उत्तरदायी हुनुपर्ने र सरकार संसद्प्रति जवाफदेही भएर सुन्नुपर्ने भनाइ राख्नुभयो ।
नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले भोटेकोशीमा आएको बाढीका कारण घाइते भएका व्यक्तिको उपचार, उद्धार, राहत र पुनःस्थापनाको माग गर्नुभयो । उहाँले जनताको सेवामा खटिएका प्रहरीका लागि आधारभूत शौचालय तथा बस्ने स्थान पानी चुइने भएको र अत्यन्तै न्यूनस्तरको कपडा दिने गरेको बताउनुभयो ।
जनता समाजवादी पार्टीका रञ्जुकुमारी झाले भोटेकोशीमा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको र आकस्मिक प्राकृतिक प्रकोपका लागि तयार रहनुपर्नेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । जनमत पार्टीका अब्दुल खानले मुलुकको हित, विकास र समृद्धि गर्नुपर्ने सबैको दायित्व भए पनि बनाएका नीति, पार्टीका घोषणापत्र आफैँले कार्यान्वयन नगरेको बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका रेखा यादवले महोत्तरीमा सरकारी कार्यालयमा राति काम भइरहेको बेला सत्यतथ्य घटना बाहिर ल्याउन खोज्ने पत्रकार दिवाकर साहलाई कुटपीट गरेकोप्रति विरोध जनाउनुभयो । साथै पत्रकार साहमाथि भएको अन्यायप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ७० प्रतिशतभन्दा बढी नेपाली कृषिमा लागेको भए पनि धेरै चामल विदेशबाट ल्याउने गरेको र सरकारमा गएका व्यक्तिले कृषिमा ध्यान नदिएको बताउनुभयो ।
आम जनता पार्टीका नेता प्रभु साहले महोत्तरीको भौतिक पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि भएको आक्रमनमाथि विरोध गर्दै पत्रकार साहको सुरक्षाको माग गर्नुभयो । स्वतन्त्र सांसद डा अमरेशकुमार सिहंले पत्रकार साहप्रति दुव्यर्वहार भएको भन्दै विरोध गर्नुभयो ।