काठमाडौँ, २३ असार : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१’ माथि छलफल भएको छ ।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रयोगशाला सरकारले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै प्रयोगशालालाई स्रोतसाधन सम्पन्न गराउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रयोगशालामा गरिएको परीक्षणको नतिजा भनसुन नलाग्ने किसिमको बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री पन्तले प्रयोगशालालाई कानुनी रुपमा बलियो बनाएर लैजानुपर्ने बताउनुभयो । समिति सभापति तुलसाकुमारी दाहालले विधेयकलाई यही महिनाभित्र परिमार्जन गरी पारित गर्ने जानकारी दिनुभयो ।
प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले अपराध बढिरहेकाले प्रयोगशालाबाट छिटोछरितो परीक्षण गर्ने व्यवस्था गर्न कानुन बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।
समिति सदस्य सुरेश आले मगर, डा वेदुराम भुसाल, भगवती न्यौपाने लगायतले प्रयोगशालालाई विश्वसनीय र अनुसन्धानमूलक बनाउनुपर्ने बताउनुभयो ।