07/07/2025, 15:19:20

बजेट ल्याउने वातावरण बनाउन मेयरज्युलाई भेटेरै आग्रह गरेकी छु : महानगर उपमेयर डंगोल


काठमाडौं, २३ असार : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन् । आज सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले यस्तो अपिल गरेकी हुन् ।

म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ,’ उनले भनेकी छिन्, ‘डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ । हामी सबै हातेमालो गरेर अघि बढौँ ।

कानुनी व्यवस्था अनुसार काठमाडौं महानगरपालिकाले असार १० गते नै बजेट प्रस्तुत गर्नुपर्ने र मसान्तभित्र पारित गरिसक्नुपर्ने बाध्यता भए पनि आजसम्म पनि बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठक मात्रै होइन बजेट तर्जुमा तथा कार्यक्रम समिति र मेयरको नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता महत्त्वपूर्ण समितिका बैठकसमेत बस्न नसकेको भन्दै सकारात्मक प्रयासका लागि उपमेयर डंगोलले आग्रह गरेकी छिन् ।

उपप्रमुखको जिम्मेवारी सम्हालेदेखि नै मैले ‘सहकार्य, सहमति र सहअस्तित्व’ को सिद्धान्तलाई आत्मसात् गर्दै आएको छु र सोहीअनुसारको भूमिका पनि निभाउँदै आएको छु। संविधान र कानुनले उपप्रमुखलाई निश्चित अधिकार दिएको छ। सोही परिधिभित्र रहेर मैले सधैँ व्यक्तिगत हितभन्दा महानगरवासीको बृहत्तर हितलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छु,’  उपमेयरको भनाइ छ, ‘मैले आफ्नो क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिहरूसँग काठमाडौं महानगरपालिकाको बजेट समयमै ल्याउनुपर्छ भनेर पटक–पटक अनौपचारिक छलफल गर्दै आएको जानकारी गराइरहनु पर्छ भन्ने लाग्दैन ।

उहाँले कार्यपालिका र नगरसभाका साथै बजेट तर्जुमा तथा कार्यक्रम समितिका अनौपचारिक छलफलमा समेत यस विषयमा कुरा राखेको पनि उनले बताएकी छिन् । ‘आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा समेत बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको छु । उहाँहरूबाट पनि मैले सकारात्मक संकेत पाएको छु,’ उपमेयर डंगोलको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेट लगायतका महत्त्वपूर्ण कार्यलाई अवरोध पुर्‍याउन नहुनेमा उनको जोड छ ।

के हो विवाद ?

बजेट ल्याउने विषयमा मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरूबीच अनौपचारिक छलफल भए तापनि अझै कार्यपालिका बैठक बस्ने टुंगो लागेको छैन । वडाध्यक्षहरूले बहुमतका आधारमा बैठक बोलाउने भने पनि प्रस्ताव दर्ता गरिसकेका छैनन् ।

मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अझै आ–आफ्नो अडानमा छन् । प्रमुख शाह गुरागाईंको संलग्नतामा बैठक राख्ने पक्षमा छैनन् । शाहको सचिवालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार कार्यपालिका बैठक बस्न गुरागाईं कि त बिदामा बस्नुपर्नेर् वा सरुवा भएर जानुपर्ने अडानमा शाह छन् । ‘नत्र शाह बैठक राख्ने पक्षमा छैनन्,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं भने बिदामा बस्ने पक्षमा छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि उनलाई सरुवा गर्ने पक्षमा छैन । शाह र गुरागाईंबीच पुरानो बसपार्कस्थित काठमाडौं टावर भवन निर्माणको नक्सा स्वीकृतको विषयलाई लिएर विवाद रहँदै आएको छ । यही विवादका कारण महानगरको कार्यपालिकाको बैठक गत पुसदेखि बसेको छैन  ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ