07/04/2025, 15:36:02

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा


खोटाङ, २० असार : सामाजिक तथा राजनीतिक विमर्शका रूपमा तयार पारिएको नेपाली कथानक नाटकहराएको कुकुर’ यही असार २१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहनुभएका खोटाङे कलाकार मणि कुलुङ राईको कथा÷निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन ४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो ।

खोटाङको रावाबेँसी गाउँपालिका–४ हौँचुरमा जन्मिएर राजधानी काठमाडौँलाई कर्मथलो बनाएर रङ्गकर्मीका रूपमा क्रियाशील कलाकार कुलुङद्वारा निर्देशित नाटक ‘हराएको कुकुर’ सोमबारबाहेक हरेक दिन ४ः०० बजेदेखि मञ्चन हुने बताइएको छ । शुक्रबार, शनिबार र आइतबार भने मध्याह्न १२ः०० बजेदेखि पनि मञ्चन गर्ने तयारी गरिएको निर्देशक कुलुङले जनकारी दिनुभयो ।

नाटक ‘हराएको कुकुर’ काठमाडौँको थापागाउँस्थित मण्डला थियटरमा मञ्चनको तयारी गरिएको कथा निर्देशक रङ्गकर्मी कुलुङले जानकारी दिनुभयो । “नाटकले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीमा पक्षपात र नागरिक आवाजमाथिको दमनजस्ता विषयलाई उजागर गर्नेछ । ‘हराएको कुकुर’ राज्यद्वारा हराइएको सत्यको प्रतीक हो”, उहाँले भन्नुभयो, “यो नाटक एउटा सरल खोजीको कथामात्र होइन । यो सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झक्झक्याउने र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य प्रस्तुति हो ।

मञ्चनको सम्पूर्ण तयारी पूरा भएको ‘हराएको कुकुर’ एउटा रूपकात्मक नाटक भएको निर्देशक कुलुङले बताउनुभयो । “कुकुर हराएको सामान्य घटनाबाट सुरु हुने कथा क्रमशः एउटा गम्भीर सामाजिक तथा राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ । नाटकको उत्कर्षमा हराएको कुकुर भेटिन्छ”, उहाँले भन्नुभयो, “जुन दृश्यले एउटा समाधान प्रस्तुत गरेजस्तो देखिए पनि नाटकका मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन् । यो नाटकले धेरै दर्शकको मन जित्ने विश्वास लिएका छौँ ।

नेपाली रङ्गमञ्चका चर्चित नायक दयाहाङ राईले थापागाउँमा सञ्चालन गर्नुभएको मण्डला थियटरमा मञ्चन हुने नेपाली नाटक ‘हराएको कुकुर’लाई रवीन तामाङले नाट्य रूपान्तरण गर्नुभएको जनाइएको छ । नाटकका मञ्चमा किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङलगायतको अभिनय÷प्रस्तुति रहने जनाइएको छ ।

यस्तै, अबिनास डिएम, मीना श्रेष्ठ, मनि कुलुङ, सुनिल वाहिङ राईको प्रस्तुति समेत मञ्चमा रहनेछन् । नेपथ्यतर्फ भने ध्वनि परिकल्पनामा अमिर ताम्राकार र नवीन काफ्ले, प्रकाश परिकल्पनामा उमेश तामाङ र प्रकाश परिचालकमा सुनिल बाहिङ राई रहनुभएको जनाइएको छ । नाटकमा दीपा मगराती, दिनेश श्रेष्ठ, पुजन लिम्बू, आकाश मगर, मञ्जिल मगर, अनुप न्यौपाने, प्रज्ञा विष्टलगायतको समेत मञ्चन भूमिका रहने जनाइएको छ । दुई हप्तासम्म मञ्चन हुने कथा÷निर्देशक रङ्गकर्मी थुलुङको नाटक ‘हराएको कुकुर’को ट्रेलर मण्डला थियटरले समेत सार्वजनिक गरिसकेको छ ।

पाँच वर्षदेखि राजधानी काठमाडौँमा रहेर रङ्गमञ्चमा गर्दै आउनुभएका रङ्गकर्मी कुलुङले यसअघि नेपाली कथानक नाटक ‘मृत्यु कुण्ड’को निर्देशन गर्नुभएको थियो । खुवालुङ, दमिनीभिर, ताप, विम्बको सपना, रामप्रसाद राई लगायत दर्जनौँ चर्चित नाटकमा अभिनय गरिसक्नुभएका रङ्गकर्मी कुलुङको यो नाटकले दर्शकको मन जित्ने अपेक्षा गरिएको दर्शकहरूले बताएका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ