बुधबार, पुष १०, २०८१

५ अर्ब ६६ करोडमै खुम्चियो सेयर बजार, नेप्से परिसूचक ४ अंक घटेपछि २५७६ मा कायम


२ असोज, काठमाडौं । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ४ अंक घटेपछि २५७६ मा कायम भएको छ । बजारमा कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडमै खुम्चियो । कारोबार रकम घट्नुले अब बजारमा बिक्री गर्नेहरू संयम हुन थालेको जनाउँछ । ७४ कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो भने ७ को स्थिर रह्यो ।

यस दिन दुई सेक्टर मात्रै बढे । बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् । विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंक घटे । अरुको तुलनामा बैंकिङ हाई क्याप सेक्टर कम्पनी रहेकाले यसले समग्र बजारको उतारचढावलाई बढी प्रभाव पार्दछ ।

बुधबार बैंकिङ सेक्टरको वृद्धिकै कारण अरु सेक्टर घट्दा पनि समग्र बजारको गिरावट दर न्यून हुन पुग्यो । यस दिन कालिका लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो । स्वरोजगार लघुवित्तको ७.९, रावा इनर्जीको ७.३, भूगोल इनर्जीको ७, सुपरमाइ हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढ्यो । गुडविल फाइनान्सको ६.७, आत्मनिर्भर लघुवित्तको ६.३, समृद्धि फाइनान्सको ५.९, समाज लघुवित्तको ५.८ प्रतिशत मूल्य घटेको छ । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा तथा गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।

भोलि बिहीबार संविधान दिवसका कारण परेको सार्वजनिक विदाले कारोबार बन्द रहनेछ । अब आइतबार मात्रै कारोबार खुल्ने छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading