06/28/2025, 23:31:40

गाजामा अर्को साता युद्धविराम सम्भव हुनेछ : डोनाल्ड ट्रम्प


वासिङ्टन, १४ असार : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको जटिल परिस्थितिमा सकारात्मक सङ्केत दिंदै आउँदो साताभित्र युद्धविरामको सम्भावना रहेको आशा व्यक्त गर्नुभएको छ । इजरायलद्वारा समर्थन प्राप्त सहायता वितरण केन्द्रहरूमा बढ्दो नागरिक मृत्युका घटनाहरूलाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दो छ ।

पत्रकारहरूको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामीलाई लाग्छ, अर्को साता युद्धविराम सम्भव हुनेछ ।

पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालको अन्त्यतिर अमेरिकाको पहलमा गाजामा युद्धविराम गरिएको थियो, सो युद्धविराम मार्च महिनामा इजरायलले तोडेको थियो । त्यसपछिका दुई महिनाभन्दा बढी समय इजरायली पक्षले गाजामा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री आपूर्ति पूर्ण रूपमा बन्द गरेको थियो । अहिले केही आपूर्ति अमेरिकी तथा इजरायली सहयोगमा स्थापना गरिएको गाजा मानवीय सहायता कोष (जीएचएफ) मार्फत पुनः सुरु गरिएको छ ।

संयुक्त राष्ट्रसंघ तथा अन्य मानवीय संस्थाहरूले हालको सहायता वितरण प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघीय राहत प्रमुख फिलिप लाजारिनीले भन्नुभयो, “नयाँ सहायता प्रणालीले एक प्रकारको ‘हत्या स्थल’ को रूप लिएको छ । नागरिकहरू आफ्ना परिवारका लागि खाना खोज्दा गोली लागेर ज्यान गुमाइरहेका छन् ।

उहाँले यस्तो अवस्था अन्त्य गरी पूर्ववत् संयुक्त राष्ट्रसंघको सहायता प्रणाली पुनः सञ्चालनमा ल्याउन आह्वान गर्नुभयो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मे महिनाको अन्त्यदेखि हालसम्म सहायता वितरण केन्द्रहरू नजिकै ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यस विषयमा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “खाना खोज्न निस्कनु कसैका लागि मृत्युको कारण बन्नु हुँदैन ।

इजरायलको प्रतिक्रियाः “हामी नागरिकलाई लक्षित गर्दैनौं” इजरायलले यस्ता घटनामा आफ्ना सुरक्षाकर्मीहरूको संलग्नता अस्वीकार गरेको छ । उसले जीएचएफ मार्फत गाजामा ४६ मिलियन भोजन वितरण गरिएको बताउँदै मानवीय कार्यलाई गलत ढंगले प्रस्तुत नगर्न आग्रह गरेको छ । हालै इजरायली पत्रिका हारेत्ज मा प्रकाशित एक समाचारमा सैनिकहरूलाई भिड तितरबितर पार्न गोली चलाउन निर्देशन दिएको उल्लेख गरिएको छ । यसबारेमा ै इजरायली सेनाको कानुनी निकायले पनि अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ । तर प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले संयुक्त वक्तव्य जारी गर्दै सो समाचारलाई ‘झुटा आरोप र दुर्भावनापूर्ण प्रचार’ भनेका छन् ।

द्वन्द्व जारी

गाजाको नागरिक सुरक्षा विभागका अनुसार, शुक्रबार मात्रै इजरायली हमलामा ८० जना मारिएका छन्, जसमध्ये केही सहायता लिन जाँदा, केही विद्यालयमा बसीरहेका र केही सडकमा रहेको अवस्थामा मारिएका थिए । यसैबीच, हमास र इस्लामिक जिहादका सशस्त्र समूहहरूले दक्षिण गाजाको खान युनिस क्षेत्रमा इजरायली सेनामाथि आक्रमण गरेको दाबी गरेका छन् ।

अक्टोबर ७, २०२३ मा हमासद्वारा इजरायलमा भएको आक्रमणमा एक हजार २१९ जनाको ज्यान गएको थियो । त्यसपछि सुरु भएको इजरायली सैन्य कारबाहीमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ५६ हजार ३३१ जनाको मृत्यु भइसकेको छ, जसमा धेरैजसो सर्वसाधारण नागरिक छन् । संयुक्त राष्ट्रसंघले यस तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ