१२ असार, काठमाडौं : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार पनि घटेको छ । यो साता मंगलबारदेखि नेप्से निरन्तर बिहीबारसम्म घटेको हो । नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से सूचक ४.४५ अंकले घटे पनि कारोबार रकममा सुधार आएको छ । यस दिन नेप्सेमा ७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यो साता मंगलबार ०.२२ अंकले घटेको नेप्से बुधबार ०.३३ अंकले घटेको थियो । बिहीबार कारोबार सुरु हुँदा २६००.२० अंकमा रहेको नेप्से सूचक ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले घटेको छ ।
बिहीबार बैंकिङ तथा बीमा कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र नेप्से सूचक घटेको हो । नेप्सेमा कारोबार भएका १ सय ५५ कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्सेको गिरावटमा मद्दत पुग्यो । बिहीबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ १.६, फाइनान्स ९.५०, होटल १२८, लगानी ०.६९, जीवन बीमा ४२.९५, उत्पादनमूलक २१.८०, निर्जीवन बीमा ४९.०७, अन्य ५.३८ र व्यापार समूह ८.५१ अंकले घटेका छन् । त्यसैगरी बिहीबार विकास बैंक ५२.८८, जलविद्युत् ३.८२ र लघुवित्त ६.४१ अंकले बढेका छन् । तर, यस दिन सामूहिक लगानी कोषको समूहगत सूचकमा कुनै पनि परिवर्तन भएको छैन ।
बिहीबार ग्रिन डेभलमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन रिलायबल समृद्धि योजनाका इकाइ धनीले ९ प्रतिशतभन्दा धेरैले गुमाएका छन् । बिहीबार पनि बुटवल पावर कम्पनीको धेरै रकम बराबर सेयर निबेच भएको नेप्सेले जनाएको छ । त्यसैगरी सिंगटी हाइड्रोपावर कम्पनीको धेरै कित्ता सेयर कारोबार भएको छ भने धेरै पटक कारोबार हुने कम्पनीमा बरुण हाइड्रो छ ।
बिहीबार नेप्सेमा ३ सय ६ कम्पनीको ७४ हजार २ सय ३९ कारोबारबाट ७ अर्ब ७८ करोड २ लाख रुपैयाँ बराबरको १ करोड ९६ लाख ५० हजार २ सय १० कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ३ सय ११ कम्पनीको ६१ हजार ८ सय कारोबारबाट १ करोड ३७ लाख ५९ हजार कित्ता सेयर ५ अर्ब ९४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।