१० असार, काठमाडौं : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक मंगलबार समान्य अंकले घटेको छ । कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से सूचक अन्तिम समयमा घटेको हो ।
मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार करिब ४ अंकले बढेको नेप्से मंगलबार अधिकांश समय सकारात्मक नै देखियो । तर, कारोबारको अन्तिम समयमा ०.२२ अंकले घटेको हो । सोमबार उत्कर्षमा पुगेको अमेरिका, इजरायल र इरान युद्धको असर नेपाली जनजीवनमा पनि पर्ने त्रासका कारण लगानीकताको मनोबल कमजोर भएको हो ।
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पर्खाइमा बसेका सेयर लगानीकर्ताले मंगलबार धितोपत्र बजार बढ्ने अनुमान गरेका थिए । नेपाल राष्ट्र बैंकले पनि अर्थतन्त्र चलायमान बनाउने गरी कर्जा सम्बन्धी व्यवस्थामा संशोधन गरी केही खुकुलो बनाएसँगै लगानीकर्ता उत्सहित थिए । तर, लगानीकर्ताको उत्साह सोमबारको कारोबार समय अवधिभरि टिक्न सकेन ।
मंगलबार कारोबार सुरु हुँदा २६००.७६ अंकमा रहेको नेप्से ०.२२ अंकले घटेर २६००.५३ बिन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार नेप्सेमा ३ सय १६ कम्पनीको ६२ हजार कारोबारबाट १ करोड ३८ लाख कित्ता सेयर ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । धेरै कारोबार हुनेमा बुटवल पावर कम्पनी छ । मंगलबार १ सय ७ कम्पनीको मूल्य बढ्यो । १ सय ४२ कम्पनीको घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
मंगलबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.९३, लगानी ०.२९, उत्पादनमूलक २९.५७, लघुवित्त ८.९७ र सामूहिक लगानी कोष समूह ०.०५ अंकले बढेका छन् । त्यसैगरी मंगलबार विकास बैंक २२.२४, वित्त १७.४६, होटल ६६.९९, जलविद्युत् १५.६८, जीवन बीमा १५.३६, निर्जीवन बीमा ३७.८८, अन्य २.५२ र व्यापार समूह ४.०६ अंकले घटेका छन् ।