तेहरान, ४ असार : इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुसार इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताउनुभएको छ ।
ट्रम्पले संयुक्त राज्य अमेरिकाले खामेनीको कहाँ लुक्नुभएको छ भन्ने अमेरिकालाई थाहा भएको र चाहेमा उहाँको हत्या गर्न सक्ने दावी गर्दै इरानले तत्काल ‘बिनाशर्त आत्मसमर्पण’ गर्नुपर्ने बताएको केही घण्टापछि इरानी सवोच्च नेता खामेनीको उक्त प्रतिक्रिया आएको हो । इजरायलले शुक्रबार ठूलो बम बारी अभियान चलाएपछि इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत जवाफी कारबाही सुरु गरेको थियो ।
“यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्नेछैन,” खामेनीले सरकारी टेलिभिजनमा गरेको लिखित सम्बोधनमा ट्रम्पको अल्टिमेटमलाई ‘अस्वीकार्य’ शर्त भन्नुभएको छ । “कुनै पनि सैन्य हस्तक्षेपले अपूरणीय क्षति पुर्याउँछ भन्ने कुरा अमेरिकाले बुझ्नुपर्छ,” उहाँले भन्नुभयो ।
सन् १९८९ देखि सत्तामा रहेका र इरानका सबै राज्यका मामिलाका अन्तिम मध्यस्थ खामेनीले यसअघि नै इरानले इजरायली नेताहरूप्रति कुनै दया नदेखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
तेहरान नजिकै इरानको आणविक कार्यक्रमका लागि ‘सेन्ट्रिफ्युज कम्पोनेन्ट’ बनाउने दुई वटा भवनलाई इजरायली आक्रमणले ध्वस्त पारेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय आइएइएले पुष्टि गरेपछि खामेनीले इरान अमेरिकासँग नझुक्ने बताउनुभएको हो ।