06/16/2025, 16:27:12

इरान-इजरायल युद्ध: मिसाइल र बम आक्रमण झनै तीव्र


काठमाडौँ, २ असार : इजरायलले आइतबार दिउँसो इरानको राजधानी तेहरानमा पुनः भीषण बमबारी गरेको छ । यस्तै, इरानले पनि इजरायलको तेल अवीव र आसपासका क्षेत्रलाई लक्षित गर्दै आक्रमण गरिरहेको छ । यसरी द्रुत गतिमा एकअर्कामाथि आक्रमणका शृंखला बढेसँगै दुई देशबीचको द्वन्द्व थप विस्तार हुने देखिएको छ ।

इरान र इजरायलले शनिबार रातभरको घातक आक्रमणबाट भएको क्षति आकलन गरिरहेका बेला नयाँ बमबारी सुरु गरेका हुन् । शनिबार रातभर भएको भीषण बमबारीका कारण दुवै देशका नागरिकलाई त्रसित र निद्राबाट वञ्चित बनाएको थियो ।

इजरायल र इरानबीचको दशकौं लामो शत्रुता भए पनि अहिलेका आक्रमणहरू निकै भयानक रहेको बताइएको छ । यसले संयुक्त राज्य अमेरिका र अन्य शक्तिहरूलाई पनि युद्धमा तान्न सक्ने व्यापक खतरा बढाएको छ ।

इरानी समाचार संस्थाहरूले क्षतिग्रस्त आवासीय भवनहरूको तस्बिर र राजधानी तेहरानको केन्द्रबाट धूवाँ निस्किरहेको भिडियोहरू सार्वजनिक गरेका छन् । तर यस विषयमा इरानी सैन्य अधिकारीहरूले भने टिप्पणी गर्न अस्वीकार गरेका छन् । रातभर इजरायली लडाकु विमानहरूले तेहरानमा बमबारी गरेका थिए । इरानको महत्त्वपूर्ण ऊर्जा भण्डार लक्षित आक्रमणका कारण तेहरानको आकाश आगोका लप्का र धूवाँले भरिएको थियो ।

यस्तै, इरानले इजरायलमाथि ब्यालेस्टिक क्षेप्यास्त्रहरूको प्रहार गरेको थियो, जसमध्ये केहीलाई त्यहाँको हवाई प्रतिरक्षा प्रणाली ‘आइरनडोम’ ले पनि रोक्न सकेन । आइतबार पनि इजरायलमा विस्फोटका आवाज सुनिएका छन् । इरानले हाइफा र तेल अवीवलगायत क्षेत्रमा गरेको क्षेप्यास्त्र प्रहारबाट १३ जना इजरायली नागरिकको मृत्यु भएको छ । शनिबार मध्यराति इजरायलले इरानको तेल प्रशोधन केन्द्र लक्षित गरी आक्रमण गरेपछि इरानले जवाफी कारबाही गरेको हो ।

आइतबार बिहान इजरायलले इरानको प्रमुख सहर इस्फहानमा हवाई आक्रमण गरेको थियो । इरानको मध्य क्षेत्रमा रहेको सो सहर इरानको परमाणु संरचनाको मुख्य क्षेत्र पनि हो । यसबाहेक इरानका अन्य सहरमा स्थित युरेनियम खानी र अन्य प्लान्टलाई पनि निसाना बनाइएको छ । इस्फहान नजिक इरानका केही ठूला सैन्य संरचना पनि छन् । जसमा एक ठूलो एयरबेस र मिसाइल बनाउने कारखाना पनि छ ।

इरानी स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारयताको इजरायली आक्रमणमा १२८ जना मारिएको दाबी गरेको छ । यस्तै आक्रमणमा परी ९०० बढी घाइते भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । दुई दिनको लडाइँका क्रममा इरानका ९ जना परमाणु वैज्ञानिक र २० भन्दा बढी सैन्य अधिकारी मारिएका छन् । इरानको राजधानी तेहरानसहित ७ राज्यमा एयर डिफेन्स सिस्टमलाई सक्रिय गरिएको छ ।

इजरायली सञ्चारमाध्यम दि जेरुसेलम पोस्टका अनुसार आक्रमणमा कम्तीमा २७० जना घाइते भएका छन् । जेरुसेलम पोस्टले समाज कल्याण मन्त्रालयलाई उद्धृत गर्दै इरानी आक्रमणका कारण कम्तीमा ७२४ जना सर्वसाधारण घरबारविहीन भएको उल्लेख गरेको छ । एबीसी न्युजका अनुसार दुई रातमा इरानले दुई सय ब्यालेस्टिक मिसाइल इजरायलतर्फ प्रहार गरेको थियो ।

सीएनएनले इजरायली डिफेन्स फोर्सले इरानी आक्रमण रोक्न सुरक्षा प्रणाली सक्रिय रहेको बताउँदै नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको जनाएको छ । तेल अवीवस्थित सीएनएन संवाददाताहरूले सहरमा खतराको संकेत जनाउने साइरन बजिरहेको बताएका छन् ।

इरानी र इजरायलीहरू थप हिंसाका लागि तयार रहेको बताइरहेका छन् । दुवै पक्षले लामो लडाइँको चेतावनी दिँदै द्वन्द्व कम गर्ने अन्तर्राष्ट्रिय आह्वानलाई अस्वीकार गरेका छन् । आइतबार इरानको इस्लामिक रिभोलुसनरी गाडर््स कोर्प्सले इजरायलले आक्रमण जारी राखे आफ्ना आक्रमणहरू थप बढाउने चेतावनी दिएको छ । त्यसको केही समय नबित्दै इजरायलका सैन्य प्रवक्ता, ब्रिगेडियर जनरल एफी डेफ्रिनले इजरायलले एक क्षणका लागि पनि इरानमाथिको आक्रमणहरू बन्द नगरेको प्रतिक्रिया दिएका छन् ।

 

यस घडीमा पनि हामी तेहरानमा दर्जनौं थप लक्ष्यहरूमा प्रहार गर्न जारी राख्छौं । हामी इरानको आणविक कार्यक्रम र यसको सैन्य क्षमताहरूमा थप क्षति पुर्‍याउँछौं,’ उनले टेलिभिजन सम्बोधनमा भनेका छन् । इरानको आणविक कार्यक्रममा केन्द्रित रहेर आइतबार तेहरान र वासिङ्टनबीच हुने भनिएको वार्ता पनि रद्द गरिएपछि द्वन्द्व समाधानको कूटनीतिको बाटो सीमित भएको छ ।

गत शुक्रबार इजरायलले इरानी शासन त्यहाँको आणविक कार्यक्रम र शीर्ष सैन्य अधिकारी लक्षित गर्दै अचानक आक्रमण सुरु गरेपछि दुई देशबीच लडाइँ सुरु भएको हो । त्यसबेलादेखि इजरायलले इरानका २५० भन्दा बढी निसानाहरूमा आक्रमण गरिसकेको छ र इरानी सेनाले दर्जनौं ड्रोनहरूका साथै इजरायली भूभागमा २०० भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ ।

इरानमा आक्रमणका कारण ६ जना शीर्ष इरानी सुरक्षा प्रमुखहरूसहित १२८ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ९०० बढी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

इरानले इजरायलको परिस्कृत हवाई प्रतिरक्षालाई निस्तेज बनाउने गरी क्षेप्यास्त्र आक्रमण गरेर जवाफी कारबाही गरिरहेको छ । तटीय सहर तेल अवीवको दक्षिणमा एउटा क्षेप्यास्त्रले एक बहुतले आवासीय भवनको धेरै भाग ध्वस्त पारेको थियो । शनिबार रातिदेखि सुरु भएको इरानी आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । धेरै घाइते भएका छन्, जसमध्ये केही गम्भीर छन् । जम्माजम्मी शुक्रबारदेखि इजरायलमा नागरिकका रूपमा पहिचान गरिएका कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

जर्मनी, फ्रान्स र बेलायत कुराकानीका लागि तयार

जर्मनी, फ्रान्स र बेलायतले इजरायल र इरान जारी तनाव कम गर्नका लागि इरानसँग तत्काल कुराकानी गर्न आफूहरू तयार रहेको बताएका छन् । जर्मनीका विदेशमन्त्री योहान वाडेफुलले यसको पुष्टि गरेका हुन् । तर तीनै देशले कुराकानीका लागि सर्त भने राखेका छन् ।

उनीहरूले इरानले पहिले नै कुराकानीको एक अवसर गुमाइसकेको र यो अन्तिम अवसर हुने बताएका छन् । मन्त्री योहानले भनेका छन्, ‘इरानले पहिले नै कुराकानीको एक अवसर गुमाइसकेको छ । आशा छ, यस पटकको अवसरलाई इरानले स्वीकार गर्नेछ ।’ उनले अघि भनेका छन्, ‘तर यो कुराकानीको एकै सर्त हुनेछ, भविष्यमा इरान युरोपका लागि खतरा नबनोस् ।

लडाइँ सहजै रोक्न सक्ने ट्रम्पको दाबी

अमेरिकी समयअनुसार शनिबार राति इरान र इजरायलबीच जारी युद्धलाई आफूले सहजै अन्त्य गर्न सक्ने दाबी गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहान भने दुवै देशलाई तत्काल सम्झौता गर्न आग्रह गरेका छन् ।

शनिबार राति उनले सामाजिक सञ्जाल ट्रुथमा इरानमाथि भएको आक्रमणमा अमेरिका कुनै पनि रूपमा संलग्न नभएको बताएका थिए । साथै उनले कुनै प्रकारले इरानले अमेरिकामाथि आक्रमण गरे त्यसको जवाफ अमेरिकी सेनाले पूरा शक्तिका साथ दिने चेतावनीसमेत दिएका थिए ।

आइतबार बिहान भने ट्रुथमार्फत उनले दुवै देशले शान्तिका लागि सम्झौता गर्नुपर्ने बताएका छन् । ‘इरान र इजरायलले सम्झौता गर्नुपर्छ र सम्झौता गर्नेछन्,’ उनले ट्रुथमा लेखेका छन्, ‘हामी चाँडै इजरायल र इरानबीच शान्ति स्थापना गर्नेछौं । धेरै फोन र बैठकहरू अहिले भइरहेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ