मङ्गलबार, पुष ०९, २०८१

एक अर्काको नीतिको चर्को आलोचनाका बिच ह्‌यारिस ट्रम्पमाथि हाबी


२६ भदौ, काठमाडौं । करिब ९० मिनेटसम्म चलेको राष्ट्रपतीय बहसमा कमला ह्यारिस र ट्रम्पले एक अर्काको नीतिको चर्को आलोचना गरेका थिए । ‘द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट’को समापनमा ह्यारिसले अमेरिकाको भविष्यप्रति आफू र ट्रम्पको धारणा पूर्ण भिन्न रहेको बताइन् । आफूलाई भविष्यको ध्यान भएको तर ट्रम्पचाहिँ विगतमा भड्किएको उनको भनाई थियो ।

ह्यारिसको नीतिको कुनै अर्थ नभएको भन्दै ट्रम्पले विगत चार वर्षमा केही हासिल गर्न नसकेको बताए । ‘हाम्रो देश विनाशको बाटोमा छ, सारा संसार हामीमाथि हाँसिरहेको छ’ अझ अगाडि उनले भने । ह्यारिसले नोभेम्बरमा चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना भएको पनि उनले बताए ।

बारम्बार पूर्व राष्ट्रपतिलाई अप्ठ्यारोमा पार्दै जनवरी ६ मा क्यापिटल हिलमा भएको आक्रमणको रक्षा गरेको आरोप ह्यारिसले ट्रम्पमाथि लगाइन् । बहसमा मुद्दालाई राम्रोसँग उठाउने, मतदातालाई सन्देश दिने र आफ्ना कमजोर पक्षको राम्रो तरिकाले बचाउनुपर्ने कुरामा ह्यारिस ट्रम्पभन्दा अगाडि देखिइन् । बहस बढ्दै जाँदा ह्यारिसले ट्रम्पलाई रक्षात्मक हुन बाध्य पारिन् । उनले गरेको आलोचना र लगाएको आरोपको जवाफ दिन ट्रम्प बाध्य भए ।

ह्यारिसले ट्रम्पलाई कमजोर भनिन् । विदेशी नेताहरू उनको खिल्ली उडाउने गरेको समेत उनले भन्न भ्याइन् । ट्रम्पको र्यालीमा आएका मानिसहरू थाकेर दिक्क मान्दै बीचमै छाडेर जाने गरेको उनले बताइन् । बहसमा मुद्रास्फीति, आप्रवासन र अफगानिस्तानबाट अमेरिकी फिर्तीको मुद्दामा ह्यारिस कमजोर देखिन्छिन् भनेर धेरै अमेरिकीहरूले सोचेका थिए ।

तर बहसको अधिकांश हिस्सामा ट्रम्पले आफ्नो भाषणको प्रभाव छोड्न असफल भए । आगामी दिनहरूमा यो अवसर गुमाएकोमा ट्रम्पलाई पछुतो हुने निश्चित प्रायः छ । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । अहिलेसम्म भएका जनमत सर्वेक्षणहरूले ह्यारिसले ट्रम्पलाई उछिन्ने देखाएका छन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading