टोरन्टो, २७ जेठ : क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार टोरन्टोमा क्यानडाले यसै वर्ष नाटोको रक्षा खर्चको दुई प्रतिशत लक्ष्य पुरा गर्ने घोषणा गर्नुभएको छ । उहाँले वर्तमान विश्वव्यापी परिस्थितिहरू अझ जटिल र चुनौतीपूर्ण हुँदै गएका कारण, क्यानडाले अमेरिकामा निर्भरता घटाएर आफ्नो सुरक्षा व्यवस्था सुदृढ बनाउनु आवश्यक रहेको औँल्याउनुभयो ।
प्रधानमन्त्री कार्नीले भन्नुभयो, “म आज घोषणा गर्न चाहन्छु कि क्यानडाले नाटोको दुई प्रतिशत रक्षा खर्चको लक्ष्य यस वर्ष नै पुरा गर्नेछ, जुन तय भएको समयभन्दा पाँच वर्ष छिटो हो ।” उहाँले थप्नुभयो, “हामीमाथि खतराहरू बढिरहेका छन् ।”
यो घोषणा अन्य देशहरूले पनि यस्तै घोषणा गरेपछि आएको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्यहरूलाई आफ्नो रक्षा खर्च बढाउन दबाब दिइरहनुभएको छ । कार्नीले भन्नुभयो, “यो संसार कठिन र प्रतिस्पर्धात्मक हुँदै गएको छ । त्यसैले क्यानडाको नेतृत्व हाम्रो मूल्य र शक्ति दुवैबाट देखिन्छ ।”

उहाँले अमेरिकाको विश्व नेतृत्व बदलिँदै गएको बताउँदै, “संयुक्त राज्यले आफ्नो बजारमा पहुँचका लागि शुल्क लिँदैछ र हाम्रो सुरक्षा सहयोग घटाइरहेको छ ।” “हामीले हाम्रो रक्षा खर्चको धेरै हिस्सा अमेरिका पठाउन बन्द गर्नु पर्छ ।”
कार्नीले रूस र चीनबाट पनि नयाँ खतरा देखिएको बताउनुभयो र त्यसैले क्यानडाले आफ्नो सुरक्षा बललाई बलियो बनाउनुपर्ने उल्लेख गर्नुभयो । अप्रिलमा ३२ सदस्यमध्ये २२ ले दुई प्रतिशत रक्षा खर्च पुरा गरिसकेका नाटोले जनाएको छ ।
रूसले सन् २०२२ मा युक्रेनमाथि हमला गरेपछि युरोपेली देशहरूले आफ्नो सैनिक खर्च बढाएका छन् र नाटोले दुई प्रतिशत रक्षा खर्च न्यूनतम मानक बनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















