२५ जेठ, काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । आजको गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो ।
बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावरमा उत्साह देखिएको छ । आज यो सेक्टर १.२२ प्रतिशत बढ्यो । धेरै मूल्य बढेका ५ कम्पनीमा सबै हाइड्रोपावर परे । धेरै कारोबार भएका ५ कम्पनीमा पनि सबै हाइड्रोपावर परे । कुल कारोबारमा आधाभन्दा बढी रकमको कारोबार हाइड्रोपावर सेक्टरमा मात्रै भएको छ । यो सेक्टरको कारोबार रकम ५ अर्ब ३७ करोड छ ।
हाइड्रोपावरका अलवा होटल तथा पर्यटन समूह ०.१२ प्रतिशत बढ्यो । बैंकिङ १.०५, विकास बैंक ०.०६, फाइनान्स ०.९१, लगानी ०.०८, जीवन बीमा ०.७७, उत्पादन ०.७४, माइक्रोफाइनान्स ०.७०, निर्जीवन बीमा ०.९५, व्यापार ०.२३ र अन्य समूह ०.९९ प्रतिशत घटे ।
रिभर फल्स पावर र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै चिलिमे हाइड्रोपावरको ८.०१, छ्याङ्दी हाइड्रोपावरको ८.०१, हिमालयन पावर पार्टनरको ७.९५ प्रतिशत मूल्य बढ्यो । ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत घट्यो । नेपाल माइक्रो इन्स्योरेन्सको ९.८, समाज लघुवित्तको ८.३ तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ६.८० प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, बुटवल पावर कम्पनी र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।