06/06/2025, 23:15:41

सेयर बजार ५.९९ अंक घटे, नेप्से २६४० अंकमा, ७ अर्ब ९७ करोडको कारोबार


२२ जेठ, काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४० अंकमा कायम भएको छ । बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ५ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९७ करोडको भयो ।

९४ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो । धेरैजसो सेक्टरका सूचक घट्दा पनि हाइड्रोपावरमा आकर्षण देखिएको छ । यो सूचक १.१३ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह ०.०३ प्रतिशत बढ्यो भने अरु सबै घटेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०४ प्रतिशत घट्यो । बैंकिङ ०.४३, विकास बैंक ०.२८, फाइनान्स ०.५६, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.१२, अन्य ०.६७ तथा व्यापार ०.८५ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । रिभर फल्स पावर, बुटवल पावर, पियोर इनर्जी र बरुण हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ९.५०, राधि विद्युत्को ७.५६, एसियन हाइड्रोको ७.३१, उपकार लघुवित्तको ६.५४, युनिभर्सल पावरको ६.४४ तथा दोर्दीखोला हाइड्रोपावरको ५.१० प्रतिशत बढ्यो । अघिल्लो दिनसम्म १० प्रतिशत बढेको ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य आज ९.३० प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ३.९०, सुपर माइ हाइड्रोपावरको ३.५५ तथा जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ३.४७ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, ङादी ग्रुप, अरुण काबेली क्रमशः अगाडि रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ