२० जेठ, काठमाडौं L काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बित भएका छन् । उनीमाथि छानबिन गर्न ६ महिनाका लागि निलम्बनको पत्र पठाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताए ।
मेयर बालेन्द्र (बालेन) शाहको मौखिक निर्देशनमा गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेलाई यसअघि सातबुँदे स्पष्टीकरण सोधिएको थियो । महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ ।
प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा ‘ह्विल लक’ गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषयमा पाण्डेमाथि स्पष्टीकरण सोधिएको थियो । पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए ।