काभ्रेपलाञ्चोक, १७ जेठ : नेपाल प्रेस युनियनले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटले प्रेस जगत्लाई सम्बोधन गर्न नसकेको बताएको छ ।
युनियनको ३४औँ स्थापना दिवसका अवसरमा शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका एवं संस्थागत क्षमता अभिवृद्धि तालिमको उद्घाटनका अवसरमा युनियनका अध्यक्ष केन्द्रीय शिव लम्सालले बिहीबार प्रस्तुत बजेट प्रेसमैत्री नभएको टिप्पणी गर्नुभयो ।
उहाँले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई बेवास्ता गरेको बताउनुभयो । सञ्चार क्षेत्रको विकास, प्रवर्द्धन, श्रमजीवीको उत्थान, सामाजिक तथा आर्थिक सुरक्षालगायत पत्रकारको क्षमता अभिवृद्धिका लागि राज्यको अभिभावकीय भूमिका नदेखिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट भाषण आयो, तर प्रेस भन्ने शब्द आएन । हामीलाई राज्यले प्रेस जगत्मा गरेको लगानीको हिसाब–किताब चाहियो ।”
सरकारले अब पनि यसैगरी बेवास्ता गरिरहे प्रेस युनियन आन्दोलनमा जान बाध्य हुने उहाँको भनाइ थियो । यसैबीच उहाँले २०८३ सालको साउन ६ गते युनियनको केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने र त्योभन्दा अघि प्रदेश र जिल्लाको अधिवेशन सक्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रेस युनियन बागमती प्रदेश अध्यक्ष युवराज पुरीको अध्यक्षतामा सुरु भएको दुईदिने तालिम उद्घाटन समारोहमा नेपाल सरकारका पूर्वसूचना तथा सञ्चारमन्त्री एवं कांग्रेस नेता डा मिनेन्द्र रिजाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झालगायत वक्ताहरूले पत्रकारितालाई विश्वसनीय, मर्यादित र परिणाममुखी बनाउन गुणस्तरीय सामग्री उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रेस युनियनबाट पत्रकार महासङ्घ बागमती प्रदेश र प्रदेशअन्तर्गत रहेका जिल्ला शाखाहरूमा निर्वाचन अध्यक्ष र पदाधिकारीहरूलाई सम्मानसमेत गरिएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















