१९ भदौ, काठमाडौँ । पारा ओलम्पिकमा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई सरकारले पुरस्कारसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख पुरस्कारसहित सम्मान गरिने जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पलेशालाई रु ६५ लाख पुरस्कारसहित सम्मान गरिने छ ! पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनु भयो । नेपाललाई पहिलो पटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई !’
सरकारले उनलाई दिन लागेको ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिने प्रधानमन्त्रीले जानकारी दिए । पलेशाले ओलम्पिकमा कास्य पदक जितेकी थिइन् । पदक विजेता खेलाडी पलेशालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलडीसडक, रत्नपार्क हुँदै त्रिपुरेश्वरसम्म सहर परिक्रममा गराइएको थियो ।