कृष्णनगर (कपिलवस्तु), १२ जेठ : कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ ।
आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।
रेगुलेटर खोल्ने बित्तिकै ग्यास लिक भएर एक्कासी आगो लागेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उहाँले बताउनुभयो । प्रहरीले घट्नास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत रहेको प्रधानाध्यापक लालचन्द्र पाण्डेले जानकारी दिनुभयो ।