05/25/2025, 20:38:26

कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृत्यु


बोगोटा, ११ जेठ (रासस/एएफपी) : पश्चिमी कोलम्बियामा शनिबार विद्यार्थी र प्राध्यापकहरू सवार एक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १० जनाको मृत्यु र ११ जना घाइते भएको विश्वविद्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार टोलिमादेखि क्विन्डियोसम्म २६ जना यात्रु बोकेको बस चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो ।

क्विन्डियो क्षेत्रको हेलिकोइल ब्रिजको छेउमा रहेको अवरोधमा ठोक्किँदा धेरै मानिस बसबाट खसेको प्रहरी कमान्डर लुइस फर्नान्डो अतुएस्टाले बताउनुभयो ।

“धेरै यात्रुहरू बाहिर निस्केर खाडलमा खसे”, उहाँले भन्नुभयो, “यस दुर्भाग्यपूर्ण दुर्घटनाका परिस्थितिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।”

कोलम्बियाको अर्मेनिया सहरमा रहेको हम्बोल्ट विश्वविद्यालयले एक वक्तव्यमा दुर्घटनामा ‘हाम्रा धेरै सहकर्मी, विद्यार्थी, प्राध्यापक र प्रशासकहरूको पीडादायी क्षति’ पछि दुई दिनको शोक घोषणा गरेको बताएको छ ।

विश्वविद्यालयका निर्देशक डिएगो फर्नान्डो जारामिल्लो लोपेजले एक भिडियोमा बसमा ‘२२ विद्यार्थी, दुई शिक्षक र एक सञ्चार अधिकारी’ सवार रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार सन् २०२४ मा दैनिक औसत २२ ट्राफिक मृत्यु भएको कोलम्बियामा सडक दुर्घटनाहरू मृत्युका मुख्य कारणहरूमध्ये एक हुन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ