देउखुरी (दाङ), ४ जेठः घोराही उपमहानगरपालिका–१८ का ४८ वर्षीय महिलाको पाठेघर बाहिर आएको र समयसमयमा दुख्ने पनि गथ्र्यो । दुई छोरा र तीन छोरी घरमै जन्माउनुभएकी उहाँ प्रजनन स्वास्थ्य र आफ्नो पीडा सुनाउन पनि लजाउनुहुन्थ्यो । नगरपालिकाले जनस्वास्थ्य प्रवर्द्धन शाखामार्फत सोही वडामा रहेको स्वास्थ्य इकाइमा निःशुल्क प्रजनन रुग्णता कार्यक्रमअन्तर्गत ‘भिआइए स्क्रिनिङ’ शिविरमा गएपछि भने उहाँ खुल्नुभयो । घर छेउमा शिविर सञ्चालन भएकाले छिमेकीका साथमा त्यहाँ पुग्नुभएकी उहाँ स्वास्थ्यकर्मीको कुरा सुनेर खुसी हुनुभयो । स्वास्थ्यकर्मीले समस्या थाहा पाएपछि उहाँको पाठेघरमा रिङ राखिदिए । अहिले निकै सजिलो भएको छ ।
ती महिलाले भन्नुभयो, “कस्तो सजिलो भयो । गाउँघरका महिला अझै पनि प्रजनन स्वास्थ्यका विषयमा खुलेर कुरा नगर्ने, लाज मान्ने र रोग लुकाएर राख्ने प्रवृत्ति रहेको छ । मैले पनि त्यसै गरेकी थिए । उपचार गरेपछि त सजिलो हुँदो रहेछ नि !”
सोही वडाकी ३३ वर्षीया अर्की महिलाको पाठेघर दोस्रो स्टेजमा तल झरेको थियो । यो कुरा थाहा पाउन पनि उहाँलाई स्वास्थ्य शिविरमा परीक्षण गर्नुप¥यो । जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले भन्नुभयो,“तीन छोराछोरीकी आमा उहाँलाई स्वास्थ्य परीक्षण गर्न जानलाई गाडी भाडासमेत थिएन । अटोरिक्साले ८०० देखि एक हजारसम्म लिने गर्छ, त्यो रुटमा गाडी चल्दैनन् । घरदेखि टाढाको सामूहिक धाराबाट पानी बोक्नुपर्छ । दैनिक उकाली–ओराली र डोकोमा पानी बोक्दाबोक्दै उहाँको पाठेघर झरेको हाम्रो अनुमान गरे । गह्रौँै काम नगर्नू, घरमा आराम गर्नु भनेर सल्लाह दिएका छौँ ।”
उहाँले दुर्गम ठाउँका महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत नहुँदा समस्या भइरहेको र त्यसैको निदानका लागि गाउँगाउँमा शिविर आयोजना गरिएको बताउनुभयो । दिनभरिको काम, महँगो गाडीभाडा भएकाले घोरदौराका महिलाको घरआँगनमै सेवा दिइएको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख पौडेलको भनाइ छ । वडा कार्यालयको समन्वयमा दुर्गम ठाउँमा स्वास्थ्य शिविर राखेर प्रजनन स्वास्थ्यका साथै प्रजनन अङ्गको सरसफाइबारे सिकाउने गरिएको उहाँले बताउनुभयो ।
उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलाहरु घरमै काममा व्यस्त हुने र स्वास्थ्य समस्यालाई लुकाउने गरेका कारण पछिल्लो समय पाठेघर मुखको क्यान्सर बढ्दै गएको बताउनुभयो । समयमै परीक्षण गरेर रोग लाग्नबाट बच्न सकिने भएकाले वडावडामा प्रजनन स्वास्थ्य शिविर राखिएको उहाँले जानकारी दिनुभयो । “दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक बिहीबार यो सेवा दिइरहेको छ”, उपप्रमुख डिसीले भन्नुभयो, “क्यान्सरजस्तो प्राणघातक रोगलाई समयमा पत्ता लगाउने हो भने उपचार सम्भव भएकाले समयसमयमा स्वास्थ्य परीक्षण गनुपर्छ ।” उहाँले साढे दुई वर्षदेखि पाठेघरको मुखको स्क्रिनिङ गरेर स्वास्थ्य परीक्षण गर्न थालिएकामा २०० भन्दा बढी महिलाको पाठेघर मुखको क्यान्सर पत्ता लागेको जानकारी दिनुभयो ।
पहिलो, दोस्रो अवस्थाका क्यान्सर निको हुने भएकाले समयमा रोग पत्ता लगाउने र महिलाको स्वास्थ्य बचाउने अभियान रहेको उपप्रमुुख डिसीको भनाइ छ ।
मनोसामाजिक परामर्शकर्ता सुशीला आचार्यले स्वास्थ्य समस्याका कारण मनोरोगको समस्या देखिने भएकाले स्वास्थ्य शिविरमा मनोपरामर्शसमेत दिने गरिएको बताउनुभयो । आफ्नो रोग खुलाउन नचाहने महिलालाई परामर्शबाट सकारात्मकतातिर लैजाने गरेको बताउनुभयो ।
घोराही–१८ का वडाअध्यक्ष भरत अर्यालले पहाडी क्षेत्रका महिलालाई स्वास्थ्य संस्था पुग्न समस्या हुने भएकाले शिविर राख्ने गरिएको बताउनुभयो ।
यही बिहीबार आयोजित शिविरमा घोरदौरामा रहेका तीनवटा टोलका २९ जना महिलाले सेवा लिएका थिए । त्यसक्रममा पाठेघर खसेका आठजना, एकजना सकारात्मक अर्थात् सम्भावित पाठेघरको मुखको क्यान्सर हुन सक्ने लक्षण देखिएकोे थियोे । दुई जनाको पाठेघरमा रिङ राखिएको थियो । परीक्षण गरेकामध्ये धेरैजसो महिलामा सेतो पानी बग्ने, चिलाउनेजस्ता समस्या देखिएको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।