१३ भदौ, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले बताए । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रूपमा पनि चिनिन्छन् ।
चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर हुन् । चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका थिए ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।