05/06/2025, 00:19:44

विदेशमा निर्माण हुने सबै फिल्ममाथि शत प्रतिशत कर लगाउने ट्रम्पको आदेश


वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बाहिर बनेका सबै फिल्ममा शत प्रतिशत कर लगाउने आदेश दिएका छन् । अमेरिकी फिल्म निर्माता र स्टुडियोले विदेशमा काम गर्ने प्रवृत्ति बढेकाले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै उनले नयाँ करको घोषणा गरेका हुन् ।

आक्रामक व्यापार नीतिका कारण ट्रम्प प्रशासनको बढ्दो आलोचना भइरहेका बेला ट्रम्पले नयाँ कर घोषणा गरेका हुन् । ‘म वाणिज्य मन्त्रायल र व्यापार प्रतिनिधिलाई हाम्रो देशमा आउने विदेशी भूमिमा उत्पादित सबै फिल्ममा सय प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्त सुरु गर्न अधिकार दिँदैछु,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन्, ‘हामी फिल्महरू फेरि अमेरिकामै बनेको चाहन्छौँ ।

वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पको सन्देश पुनः पोस्ट गरेका छन् । ‘हामी यसमा काम गरिरहेका छौँ,’ उनले लेखेका छन् । तर नयाँ कर कसरी कार्यान्वयनमा आउनेछ भन्नेबारे कुनै विवरण दिइएको छैन । राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा १ सय ४५ प्रतिशत कर लगाएसँगै बेइजिङले चीनमा आयात हुने अमेरिकी फिल्मको संख्या घटाउने बताएसँगै ट्रम्पको नयाँ घोषणा आएको हो ।

अमेरिकाको चलचित्र उद्योग धेरै छिटो मर्न थालेको छ । अन्य देशले हाम्रा फिल्म निर्माता र स्टुडियोहलाई अमेरिकाबाट टाढा लैजान सबै प्रकारका प्रोत्साहन दिइरहेका छन्,’ ट्रम्पले लेखेका छन् । उत्पादन अन्य देशहरूमा आकर्षित हुनु ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको ट्रम्पको दाबी छ । ‘हलिउड र अमेरिकाभित्रका अन्य धेरै क्षेत्र ध्वस्त भइरहेका छन्,’ उनले लेखेका छन् ।

हलिउड अमेरिकी अर्थतन्त्रको एक मुख्य क्षेत्र हो । मोशन पिक्चर एसोसिएसनको पछिल्लो तथ्यांकअनुसार सन् २०२२ मा यो क्षेत्रले २३ लाखभन्दा बढी रोजगारी र २ खर्ब ७९ अर्ब डलर व्यापार गरेको थियो । तर हड्ताल र कोभिड महामारीले थलिएको हलिउड उद्योगले अझै पनि आफ्नो गति समात्न सकेको छैन ।

हडताल र कोभिड महामारीले अमेरिकीको फिल्म हेर्ने तरिकामा परिवर्तन आएको छ । पछिल्लो समय थिएटरमा भन्दा घरमा फिल्म हेर्नेको संख्या बढेको छ । उत्पादन ट्र्याकिङ सेवा प्रोडप्रोको गत जनवरीको रिपोर्टअनुसार अमेरिका १४ अर्ब ५० करोड डलरको उत्पादन खर्चसहित एक शीर्ष फिल्मिङ केन्द्र हो । तर उक्त रकम २ वर्ष अघिको तुलनामा २६ प्रतिशतले घटेको छ ।

स्टुडियो कार्यकारीहरूको सर्वेक्षणले सन् २०२५ र २०२६ का लागि उनीहरूका शीर्ष पाँच मनपर्ने स्थानहरू अमेरिकाबाहिर रहेको खुलासा गरेको छ । टोरन्टो, बेलायत, भ्यानकुभर, मध्य युरोप र अस्ट्रेलिया क्रमश: पहिलोदेखि पाँचौं स्थानमा छन् । अमेरिकाको क्यालिफोर्निया छैटौँ स्थानमा परेको छ ।

गत २० जनवरीमा राष्ट्रपतिको पदभार ग्रहणअघि ट्रम्पले लामो समयदेखिका समर्थकहरू सिल्भेस्टर स्टेलन, मेल गिब्सन र जोन भोइटलाई हलिउडका विशेष दूतका रूपमा नियुक्त गरेका थिए । त्यस्तै उनले मनोरञ्जन उद्योगलाई ‘पहिलेभन्दा अझ बलियो’ बनाउने बताएका थिए ।

ट्रम्प र रिपब्लिकनहरूले भने परम्परागत रूपमा मनोरञ्जन उद्योगबाट थोरै समर्थन पाएका छन् । टेलर स्विफ्टदेखि जर्ज क्लुनीसम्मका स्टारहरूले सन् २०२४ को राष्ट्रपति चुनावमा डेमोक्रेट उम्मेदवार कमला ह्यारिसलाई समर्थन गरेका थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ