05/03/2025, 07:00:56

परम्परागत नीति तथा कार्यक्रम : प्रमुख प्रतिपक्षी


काठमाडौं, १९ वैशाख : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँपन नभएको तथा परम्परागत रूपमा आएको प्रतिक्रिया दिएको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको सरकारको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो, “नीति तथा कार्यक्रममा कुनै नयाँपन केही छैन । परम्परागत रूपमा आएकाले जनतामा आशा जगाउन सक्दैन ।

परम्परा र अतीतमुखी रहेकाले भविष्य कोर्ने स्पष्ट मार्गनिर्देशन कार्यक्रममा नदेखिएको बताउँदै प्रवक्ता सापकोटाले नीति तथा कार्यक्रमलाई सारसङ्ग्रहवादी दस्तावेजको संज्ञा दिँदै यसले जनताको आशा जगाउन सक्दैन भन्नुभयो ।

नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकका दुई ठूला र फरक विचारधारा रहेका दलहरू सम्मिलित भई बनेको सरकारले नीति तथा कार्यक्रम गुणात्मक ल्याउछकी भनी अपेक्षा गरिएकामा त्यसो नभई निरन्तरतामा आधारित भएर आएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रममा आउन त सबै कुराहरू आएको छ, तर परम्परागत सुधारात्मक ढङ्गले आयो । देशको आवश्यकता सुशासन र आर्थिक क्षेत्रमा गुणात्मक महत्वको परिवर्तनसहित आउछकी भन्ने अपेक्षा थियो, मैले त्यो पाइन ।

ती सुधारात्मक कदमले हालको चुनौती सम्बोधन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले कार्यक्रममा सबै विषय समेटिए प्राथमिकीकरण नभएका कारण कार्यान्वयनमा अलमल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम सामान्य रूपमा पास अङ्क ल्याउने भए पनि उच्चतम अङ्क प्राप्त गर्न नसक्ने खालको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ